भक्तपुर जिल्ला अदालतमा कुल मुद्दाको ४८.३९ प्रतिशत मात्र फछ्र्यौट

भक्तपुर, साउन १
भक्तपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०÷०८१ मा कुल मुद्दाको ४८.३९ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गरेको छ ।
अदालतको तथ्यांक अनुसार गत वर्ष अघिल्लो आर्थिक वर्ष २०७९÷०८० बाट जिम्मेवारी सरेर आएका २ हजार ५ सय ९४ मुद्दा र आ.व.२०८०÷०८१ को वर्ष भरीमा ५ हजार १२ मुद्दा गरी कुल ७ हजार ६ सय ६ मुद्दा थिए । ती मध्ये ३ हजार ६ सय ८१ फर्छ्यौट भएको भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरले बताउनुभयो । जुन कुल मुद्दाको ४८.३९ प्रतिशत मात्र हो ।
तर अदालतको लक्ष्य अनुसार भने ९४.८७ प्रतिशत मुद्दा फछर्यौट भएको छ । अदालतले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३ हजार ८ सय ८० थान मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएकोमा ३ हजार ६ सय ८१ थान मुद्दा फछ्र्यौट भएको छ । जुन लक्ष्यको ९४.८७ प्रतिशत हो ।
भक्तपुर अदालतमा हाल २ वर्ष नाघेका २८५ थान र डीसीएम पूर्वका १३ मुद्दा चालु अवस्थामा रहेको छ । यसैगरी १८ महिना नाघेका मुद्दा संख्या १७४ थान रहेको श्रेष्तेदार पुलामी मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालबालिका सम्बन्धी मुद्दाको सवालमा भने ४१ वटा लगत रहेकोमा ३३ वटा फर्छ्यौट गरिएको छ भने बाँकी मुद्दा संख्या ८ रहेकोमा एक बालबालिका थुनुवा रहेको छ ।
यसैगरी अघिल्लो वर्षबाट सरेर आएका र नयाँ मुद्दा अन्तर्गत देवानी मुद्दा ३ हजार ९ सय ७० रहेकोमा २ हजार १ सय ८२ थान मुद्दा फर्छ्यौट भएको छ । व्यक्तिवादी फौजदारी मुद्दा १ हजार ८ सय ३ थान रहेकोमा ७ सय ९९ फर्छ्यौट भएको छ । सरकारवादी फौजदारी मुद्दा संख्या १ हजार ७ सय ३२ रहेकोमा ६ सय ५५ वटा फर्छ्यौट भएका छन । साथै पुनरावेदन भएर आएका ४० मुद्दामा १२, रिट निवेदनतर्फ ६१ मुद्दा रहेकोमा ३३ थान फर्छ्यौट भएको छ ।
निरन्तर सुनुवाइ हुने मुद्दाको लगत ९२ रहेकोमा ५६ फर्छ्यौट गरी सकिएको र बाँकी ३६ रहेको अदालतका सूचना अधिकारी भिमवहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँले थुनुवा मुद्दा ७२ थान रहेको र थुनुवा संख्या ८५ रहेको बताउनुभयो । यस्तै विशेष प्रकृतिको निवेदन लगत ६ सय ९९ रहेकोमा ६ सय ९४ वटा फर्छ्यौट भई ५ थान बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म फछ्र्यौट गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।
अदालतमा सोमवार आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उहाँले पुराना मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्यका साथ चालु आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भए पनि पुराना मुद्दा किनारा लगाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा अदालतमा वर्ष भरी उत्कृष्ट काम गरेका ४ कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
भक्तपुर जिल्ला अदालतमा हाल ६ वटा इजलास रहेका छन् । जसमा इजलास १ मा प्रमुख न्यायाधीश वासुदेव न्यौपाने, २ नम्वर इजलासमा न्यायाधीश उपेन्द्रप्रसाद गौतम, ३ नम्वर इजलासमा न्यायाधीश श्रीप्रसाद संजेल, ४ नम्वर इजलासमा न्यायाधीश महेन्द्रप्रसाद पोखरेल, ५ नम्वर इजलासमा न्यायाधीश रामप्रसाद न्यौपाने र ६ नम्वर इजलासमा न्यायाधीश दुर्गादेवी गुरुङ्ग रहनुभएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *