लेबनानमा हुने सिडार्स वुमेन्स कपका लागि नेपाली टोली घोषणा

भक्तपुर, असार १२
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो जुलाईमा लेबनानमा हुने चार देश सम्मिलित सिडार्स वुमेन्स कप २०२४ मा सहभागी हुने नेपाली महिला फुटबल टोली घोषणा गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङले बुधवार नेपालको २३ सदस्सीय टोली घोषणा गरेको हो ।
टोलीमा वाफ च्याम्पियनसिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश भएकी छन् । एसियाली खेलकुदमा घाइते भएकी सरु लिम्बु र रेनुका नगरकोटे पनि टोलीमा फर्केका छन् ।
टोलीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, डिफेन्डर अमृता जैसी, गीता राना, हीरा कुमारी भुजेल, विमल विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे, मिडफिल्डर रेणुका नगरकोटे, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी र फरवार्ड सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ रहेका छन ।
नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डन विरुद्ध नै पराजित हुन पुगेको थियो । सो खेल नेपालले टाईब्रेकरमा जोर्डनलाई सुम्पिएको थियो ।
नेपालले जोर्डन पछि दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश विरुद्ध असार २९ (जुलाई १३) मा खेल्नेछ भने घरेलु टोली लेबनान विरुद्ध श्रावण १ (जुलाई १६) मा प्रतिस्पर्धा गर्नेछ ।
चार टोली सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाईने छ । तालिकामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *