अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित पुरस्कृत

भक्तपुर, असार ३
युवा तथा खेलकुद मन्त्रालयले आइतबार क्रिकेट टोलीसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्रालयले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरेको हो । पुरस्कारको कुल रकम २ करोड ९७ लाख १० हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत हुने खेलाडीहरुमा १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी करातेका एरिका गुरुङ, प्रशिक्षक कुशल श्रेष्ठ, सहायक प्रशिक्षक छोरी डंगोल, पारा ओलम्पियन पलिस्था गोवर्धन, महिला कब्बडी टोली र टोलीका प्रशिक्षक एवम् राष्ट्रिय क्रिकेट टोली छन ।
कार्यक्रममा एरिकाले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार तथा सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीले समान ७८ हजार रुपैयाँ पाए । टिम व्यवस्थापक निवासगोपाल वैद्य १ लाख ९५ हजार नगदसहित पुरस्कृत भए । करातेतर्फ जम्मा २५ लाख ३५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरियो ।


हाङझाव एसियाडमै ऐतिहासिक कांस्य विजेता नेपाल महिला कबड्डी टोलीका मेनुकाकुमारी राजवंशी(कप्तान), मानमति विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु र कलावती पन्तले जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले समान १ लाख ३० हजार रुपैयाँ प्राप्त गरे ।
एसियाडमा नेपाली महिला कबड्डी टोलीले पहिलो सहभागितामै पदक जित्न सफल भएको थियो । कबड्डी टोलीले कुल ४८ लाख १० हजार रुपैयाँ पुरस्कार पाए ।
चीनको हाङझावमै भएको चौथो पारा एसियाली खेलकुदको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धनले १३ लाख रुपैयाँबाट पुरस्कृत भइन् ।


पारा एसियाली खेलकुदमा पलेशाले हासिल गरेको पदक नेपालको अहिलेसम्मकै एक मात्र पदक हो । अघिल्ला तीन संस्करणमा नेपाल नियमित रुपमा सहभागी भएपनि पदक भने जित्न सकेको थिएन । प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाए ।
यसैगरी आईसीसी टी– २० वल्र्ड कप फाइनल एसियामा दोश्रो भएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अविनाश बोहरा, कुशल मल्ल, विवेककुमार यादव, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, करण केसी, सन्दिप लामिछाने, सन्दिप जोरा, प्रतिश जिसी, ललितनारायण राजवंशी र विनोद भण्डारीले जनही १३ लाख रुपैयाँ प्राप्त गरे । क्रिकेट टोलीका अधिकांश खेलाडी टी– २० विश्वकपका लागि वेस्ट इन्डिजमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।
मुख्य प्रशिक्षक मोन्टी देसाइले ३ लाख ९० हजार, सहायक प्रशिक्षक बसन्त शाही, व्यवस्थापक सुमनराज कार्की र फिजियो विक्रम न्यौपानेले समान १ लाख ९५ हजार रुपैयाँ प्राप्त गरे । क्रिकेटमा सर्वाधिक २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरियो ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले पुरस्कृत गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *