नेवार समूदायले गरे पानीका मुहान र स्रोतको सफाई

भक्तपुर, जेठ ३०
भक्तपुरका नेवार समूदायले बुधवार पानीका मुहान र स्रोत सफाई गरेका छन । वर्षा अगाडिको अन्तिम चाड सिथि नखःको अवसरमा नेवार समूदायले इनार, धारा, कुवा, पोखरी, ताल सरसफाई गरेका हुन ।
सिथि नखःको सेरोफेरोमा मनसुन भित्रिने र वर्षात भई रोपाई शुरु हुने भएकाले नेवार समूदायले पानीको स्रोत सफाई गरेका हुन । वर्षामा पानीको मुहान दुषित भई विभिन्न रोगको प्रकोप आउने भएकाले वर्षा अघि नै सिथि नखःको दिन पानीका मुहान र स्रोत सफाई गर्ने प्रचलन विकास भएको सँस्कृतिकर्मीहरुको भनाई छ ।
“सिथि नखःले परापुर्व कालदेखी पानीका मुहान सधैं सफा राख्नु पर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दुषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देश समेत सिथि नखःले दिने गरेको छ,” संस्कृतिकर्मी एवम् इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भन्नुभयो ।
सिथि नखः नेवार समूदायले मनाउने विशेष पर्व मध्ये एक हो । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन भगवान कुमारको जन्म दिन समेत भएकाले यस दिन मनाउने यो पर्वमा नेवार समूदायले मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘व‘ खाने प्रचलन रहेको छ । त्यसैगरी चामलको चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको छ । साथै भर्खरै गहुँ भित्र्याईने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटीहरु खाने चलन समेत रहेको छ । यस दिन वःलगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ ।


नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा. डा. श्रेष्ठ बताउनुहुन्छ । “पहिलो सिथि नखः अर्थात कुमार षष्ठी महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रापाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ,” उहाँले भन्नुभयो ।
दोस्रो यसपर्व सँगै नेवार समुदायमा रोपाईं शुरु भएको सन्देश दिने भएकाले किसानहरु कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाँती राखेर किसानहरु अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफुलाई तयार पार्ने चाडको रुपमा रहेकाले पनि यसको विशेष महत्व राख्ने गरेको उहाँले बताउनुभयो ।
खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडको रुपमा समेत यसलाई लिन सकिने श्रेष्ठ बताउनुहुन्छ । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलन अनुरुप सिथि नखःमा खाने वः, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्ट राख्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।
सिथि नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाईन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *