मध्यपुर थिमि नगरपालिकाले अनुमति नलिएका होर्डिङ बोर्ड हटाउने

भक्तपुर, चैत्र १२
मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्डहरु हटाउने भएको छ । मध्यपुर थिमिले सोमवार विज्ञापन कर वापतको रकम तिरेर अनुमति लिन ३० दिने सूचना जारी गर्दै कर तिरेर अनुमति नलिए त्यस्ता होर्डिङ बोर्डहरु हटाउने जानकारी दिएको हो ।
नगरपालिकाभित्र अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रूपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरूको विज्ञापन तथा प्रचार–प्रसार सामग्रीहरू राखिएको पाईएको सूचनामा उल्लेख छ ।
‘यस नगरपालिकाको अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रुपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरुको विज्ञापन तथा प्रचार सामग्री राखिएको पाईएकोले अनुमति नलिई वा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिङ बोर्ड, फ्लेक्स, व्यानर, डिस्प्ले बोर्ड, परिचयपाटी, वाल सटर पेन्ट्स, लोगो तथा चिन्हलगायतका सम्पूर्ण विज्ञापन सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र मध्यपुर थिमि नगरपालिकाको राजश्व शाखामा सम्पर्क राखी नगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम लाग्ने विज्ञापन कर तिर्न बुझाउन अनुरोध गरिएको छ’, सूचनामा उल्लेख छ ।
सूचनामा तोकिएको समयमा कानून अनुसार कर बुझाई अनुमति नलिए त्यस्ता विज्ञापनका सामग्रीहरु हटाई जफत गरिने जनाएको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विज्ञापन कर नतिरी कुनै पनि प्रचारका सामग्री राख्न नपाउने ऐनमा उल्लेख भएको बताउँदैं त्यस्ता सामग्री हटाउन र विज्ञापनका सामग्रीहरुलाई नियमन गर्न सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो । उहाँले तोकिएको म्याद सकिएपछि अनाधिकृतरुपमा राखिएका विज्ञापनका सामग्री हटाउने अघियान शुरु गर्ने बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *