प्रेम र यौनको प्रतिक भक्तपुरको फागु पर्व

भक्तपुर, चैत्र ११
होलीया मेला, मय्जू मस्युला
अविर भचाः नः, तये मज्युला
नेवारी समुदायमा सर्वाधिक लोकप्रिय र प्रख्यात फागु सम्बन्धी उल्लेखित लोकभाकाले ‘होलीको बेलामा सुन्दरी युवतीहरुलाई अविर अलिकति पनि दल्न नहुने हो र ?’ भन्ने भाव झल्काउँछ ।
त्यसैगरी
‘अबिरया होली, तचँयाला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दय्काबि’
लोककथामा आधारित नेपाल भाषाको चलचित्र ‘सिलु’ को यो गीतको अंशले पनि ‘अबिरको होली खेल्दा पनि रिसायौ की तरूनी, अबिरले तिम्रो अनुहार झन् राम्रो बनाई दिन्छु’ भन्ने अर्थ बोकेको छ ।
फागु पर्व सम्बन्धी विभिन्न धार्मिक कथन, किंवदन्ती पाईएता पनि नेवार समूदायमा प्रचलित फागु सम्बन्धी लोकभाकाहरु विशेष गरी युवती लक्षित पाईनुले फागु पर्वलाई नेवार समूदायले पृथक ढंगले प्रेम र यौनको प्रतिकको रुपमा मनाउने गरेको पाईन्छ ।


फागु पर्व बसन्त ऋतुको आगमनसँगै मनाईने रंग र खुसीको पर्व हो । विशेष गरी सप्तरंगी रंगमा रंगिएर एक आपसमा खुसी साटासाट गर्ने र आपसको वैरभाव एवम् रिस राग बिर्सेर मनाउने यो पर्व वास्तवमा एउटा उन्मत्त पर्व हो ।
फागुन शुक्ल पूर्णिमाको दिन धुमधामले मनाउने यो पर्वको शुरुवात भने फागुन शुक्ल पक्ष अष्टमीको दिन शुरु हुन्छ । अष्टमीको दिन काठमाण्डौंको बसन्तपुर डबली अघिको चोकमा सप्तरंगी कपडाका ध्वजापताका सहितको चीर ठड्याएर गुठियारहरुले एक आपसमा अविर दलेर फागु पर्व शुरु भएको जनाउ दिन्छ ।
सोही दिन भक्तपुरको तचपालस्थित भिमसेन मन्दिरको पाटीमा काठको बडेमानको पुरुष जनईन्द्रिय अंग लिङ्गको प्रदर्शन गरेर फागु पर्व शुरु भएको जनाउ दिन्छ । लिङ्गको प्रदर्शनसँगैं गुठियारहरु पाटीमा बसेर
‘भिसीँ द्यः या लजः ख्वगं, लव् वान ला ल्यासे,
बिस्यू वने म्वायेक स्वः झायाः लाः’
अर्थात ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भन्ने भावको परम्परागत नेवारी लोकभाका गाएर बस्नुले भक्तपुरमा मनाईने फागु पर्वलाई झन पृथक बनाएको छ । यसले फागु पर्वलाई यौनसँग जोड्ने गरेको पाईन्छ । त्यसैले भक्तपुरमा फागु पर्वलाई प्रेम र यौनको प्रतिकको पर्वको रुपमा मनाउने गर्दछ भन्नु अतिशयोक्ति हुन सक्दैन ।
बसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्क समेतमा एक खालको तरंग पैदा गर्ने बेलामा एक आपसमा रंगको होली खेलेर मनाउने पर्व फागु प्रेम र यौनको प्रतिक बन्नु स्वभाविक भएको संस्कृतिविदहरुको भनाई रहेको छ ।
बसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागु पर्वमा यौनरसयुक्त गित प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । उहाँका अनुसार १७ औं शताव्दीदेखी नै कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकृषित हुने तर तत्कालिन समयमा मनोरञ्जनको साधन स्रोत भनेकै चाडपर्व हुने भएकाले फागुलाई प्रेम र यौनको प्रतिकका् रुपमा मनाउन थालेको हो । फागुमा बढी यौनरस युक्त संगित गुञ्जनु पनि यसैको उदाहरण भएको उहाँले बताउनुभयो ।


उहाँले फागुमा यौनरसयुक्त लोकभाका गुञ्जने भएता पनि फागु अस्लिल पर्व भने नभएको बताउनुभयो । उहाँले यसलाई विशुद्ध जिवन्त साँस्कृतिक पर्वको रुपमा लिनुपर्ने बताउनुभयो । फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाती फागुको रंगमा रंगिने र सबैले खुसीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत भएको बताउनुभयो ।
यसैगरी अर्का संस्कृतिविद् एवम् ईतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचिनकालदेखी नै समाज पुरुष प्रधानको रुपमा विकास भएसँगै महिलालाई यौनको प्रतिकका रुपमा लिने र महिलालाई यौन चाहना पुरा गर्ने साधनको रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा प्रेम र यौनरसयुक्त लोकभाका गुञ्जन गरेको बताउनुभयो ।
फागु विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ्ग दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पुजा गर्ने र बाजा गाजा सहित एक आपसमा अविर दलेर टोल छिमेक परिक्रमा गर्ने प्रचलन पनि रहेको छ । यसले भक्तपुरमा मनाईने फागु पर्वलाई साँस्कृतिक पर्वको रुपमा पनि विकास गरेको छ ।
शास्त्रानुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछ । तर प्रल्हादलाई केही हुँदैन । हिरणकश्यपुकी बहिनी होलीकालाई उनको तपस्याबाट प्रसन्न भएर अग्नी देवले आगोले छुन नसक्ने वरदान दिएको थियो । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्नीमा दहन गर्ने योजना बनाउँछ । सो योजना अनुसार होलीका प्रल्हादलाई काखमा राखी अग्नीमा बस्दछ तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलीका जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुसियालीमा होली पर्व मनाउन थालिएको हो । कतै फागु पर्वलाई भगवान कृष्णसँग पनि जोडिएको पाईन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *