नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

भक्तपुर, फागुन २६
नेपाल साहित्य मन्दिरले शनिवार दुई साहित्यकारलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकारलाई प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट युवा गजलकार अनिश शाक्यलाई सम्मान गरेको हो ।
नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको हो । यस्तै नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनिश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरका पूर्व अध्यक्ष तिलक प्रकाश कायस्थले सम्मान गर्नु भएको थियो । सो अवसरमा कायस्थले नेपाल भाषा साहित्यमा योगदान दिँदै आउनुभएका विभिन्न स्रष्टाहरूलाई बर्सेनि सम्मान गर्न पाउनु आफैमा गर्वको कुरा भएको बताउनुभयो ।
उहाँले नेपाल भाषा साहित्यको संरक्षण गर्न यस संस्थाले विक्रम सम्मत २०१० साल देखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको समेत जानकारी दिनुभएको थियो । “आफ्नो कला संस्कृति तथा भाषाको रक्षा नगरे हाम्रो अस्तित्व नै लोप हुन्छ,” उहाँले भन्नुभयो ।
नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान (अगिव) बनेपालीको सभातित्वमा सम्पन्न कार्यक्रममा कथाकार महेन्द्र गोपाल कर्माचार्य, कृष्णलाल प्रधान, योगेन्द्र प्रधान, प्रतिसरा सायमी, दिपचन्द्र साखलगायतका वक्ताले नेपाल भाषा साहित्यको संरक्षणका लागि सबैले योगदान दिनुपर्ने बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *