महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमूलक सिपसँग जोड्नुपर्छ– प्रजिअ श्रेष्ठ

भक्तपुर, फागुन २५
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउन उनीहरुलाई उत्पादनमूलक सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । ११४ औं अन्तर्राष्ट्रि«य महिला दिवसको अवसरमा बिहीबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘आर्थिक विकासमा महिला उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर बन्न नसक्दा हिँसामा पर्ने गरेको बताउनुभयो ।
उहाँले महिलाहरु महिलाहरु सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । “सिप उत्पादनसँग जोडिए मात्रै रोजगार वृद्धि भई आत्मनिर्भर बन्न सकिन्छ” उहाँले भन्नुभयो, “सिपले महिलाहरुलाई जीविकोपार्जनमा आत्मनिर्भर बनाउनुका साथै राष्ट्रका कुनै पनि क्षेत्रको नेतृत्वमा पुग्न सक्षम समेत बनाउँछ ।”
प्रजिअ श्रेष्ठले जोखिम कम हुने क्षेत्र पहिचान गरी लगानी गर्न महिला उद्यमीहरुलाई आग्रह गर्नुभयो । “आफूलाई ज्ञान भएको तथा आफूसँग भएको सिपअनुसारको व्यवसायमा लगानी गरेमा मात्रै लगानी सुरक्षित हुन्छ,” उहाँले भन्नुभयो । महिला उद्यमशीलता विकास हुने तालिमहरु पनि लिँदै जानुपर्नेमा जोड दिँदैं उहाँले सिप र तालिमबिना सञ्चालित व्यवसाय दीर्घकालीन नहुने भएकाले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले पहिलेको तुलनामा अहिले राज्यका आर्थिक, सामाजिक, राजनीतिकलगायत हरेक क्षेत्रमा महिलाहरुको योगदान बढ्दै गएको भए पनि महिलाहरुको कामको सम्मान र सही मूल्यांकन हुन नसकेको बताउनुभयो । महिलाहरुलाई बोक्सीको आरोपमा यातना दिने, दाइजो प्रथा, छाउपडी प्रथाको अन्त्य अझै हुन नसकेको भन्दै उहाँले महिलाहरु माथि हुने कुनै पनि किसिमका अन्याय हुन नदिन महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले महिलाहरुले आवाज बुलन्द गरेकै कारण पहिलाको तुलनामा धेरै अधिकार पाउन सकेको धारणा राख्नुभयो । उहाँले संघले महिला सशक्तीकरण, उद्यमशीलता वृद्धि, सीप विकास, नेतृत्व क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । “जिल्लाका महिलाहरुलाई उद्यमी बनाउन स्थानीय तह, प्रदेश, संघीय सरकारसँगै विभिन्न सरकारी नियकासँग सहकार्य गरी महिलाहरुलाई आवश्यक तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै जाने छौं,”उहाँले भन्नुभयो ।
कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख मेरिना चित्रकार, समाजसेवी कृष्णेश्वरी हाडा, शिक्षा विकास तथा समन्वय एकाईकी इकाई प्रमुख कमला ज्ञवाली, संघका उपाध्यक्ष गणेशहरि प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा संघले जिल्लाका दुईजना महिलालाई सम्मान गरेको छ । प्रजिअ श्रेष्ठले महिला स्वरोजगारका लागि प्रेरक व्यक्तिको रुपमा रमालक्ष्मी प्रजापतिलाई सम्मान पत्रसहित खादा ओढाएर र महिला उद्यमी चेतकुमारी चित्रकारलाई दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *