कांग्रेस महासमिति बैठकका लागि तीन बुँदें नारा तय

भक्तपुर, फागुन ३
नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने तीन बुँदें नारा तय गरेको छ ।
कांग्रेसको महासमिति बैठकको तयारीबारे बुधवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महासमिति बैठक प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले सो जानकारी दिनुभएको हो ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ५६ पृष्ठको नीति प्रस्ताव पेश गर्ने भएको छ । ‘आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुनेछ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो ।
यस्तै महासमितिमा छलफलका लागि महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गर्ने तयारी रहेको विश्वकर्माले बताउनुभयो ।
महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव बिहीबार सानेपामा बस्ने पार्टी केन्द्रीय समिति बैठकले पारित गर्नेछ । महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको विश्वकर्माले बताउनुभयो ।
कांग्रेसले महासमितिको बैठकका लागि तयार पार्ने स्वागत द्धारमा पार्टीका संस्थापक नेता विपी कोईराला र सभापति शेरबहादुर देउवाको तस्वीर राख्ने पनि जनाएको छ । महासमितिका लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झण्डा राखिने छ ।
यस्तै स्वागत द्धार काठमाडौँको नागढुंगा, कलंकी, गोंगबु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडिबुटी, काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहने विश्वकर्माले बताउनुभयो ।
सहभागीहरुलाई तस्वीर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउने पनि प्रचारप्रसार उपसमितिको तयारी छ ।
उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तादान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको छ । फागुन ७ गते उद्घाटन र १० गते समापनका बेला कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने कांग्रेसले जनाएको छ ।
महासमितिमा करिब दुई हजार तीन सय जना सहभागी हुनेछन् । कांग्रेसले २०७८ को मंसिरमा १४ औं महाधिवेशन गर्दा नेतृत्व अधिवेशन मात्रै गरेर नीति अधिवेशन पछि गर्ने निर्णय गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *