प्रसाईंलाई नजरवन्दमा राखिएको छैन–जिल्ला प्रशासन कार्यालय भक्तपुर

भक्तपुर, मंसिर ९
जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवम् व्यवसायी दुर्गा प्रसाईं नजरबन्दमा नराखिएको स्पष्ट पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो समय बढ्दो सुरक्षा चुनौतीका कारण सुरक्षा जोखिमको आंकलन र परिस्थितीको गाम्भीर्यतालाई मध्यनजर गरी प्रसाईं र प्रसाईंको निवासमा सुरक्षा मात्र प्रदान गरिएको स्पष्ट पारेको हो ।
विज्ञप्तीमा प्रसाईंले आफ्नो इच्छा अनुसार पत्रकार सम्मेलन गर्ने, आवतजावत गर्ने, मानव अधिकारकर्मीहरु एवम् शुभेच्छुकहरुसँग भेटघाट गर्ने जस्ता कार्य नियमित रुपमा गरिरहेको जनाउँदैं निषेधित क्षेत्रमा सभा जुलुश गर्ने लगायतका प्रचलित काननले रोक लगायका कार्यहरु बाहेक प्रसाईंले गर्न चाहेका अन्य कार्यमा सुरक्षाकर्मीहरुबाट कुनै रोक नलगाएको उल्लेख गरिएको छ ।
“स्थानीय प्रशासन ऐन बमोजिम नेपाल सरकारले कुनै स्थानमा भेला भई धर्ना, अनसन, घेराउ र विरोध प्रदर्शन लगायतका गतिविधि गर्दा आपसी विवाद, झै–झगडा, मुठभेड तथा भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने स्थानहरुमा निषेधाज्ञा लगाईएको बाहेक अन्य अवस्थामा स्थानीय प्रशासनको पुर्व स्वीकृति लिई सार्वजनिक स्थालहरुमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न छुट रहेको र सो अधिकारको प्रयोगमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट कहिकतै कुनै तवरमा अवरोध गरिएको छैन,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रशासनले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीले इमान्दार रुपमा गरेका कार्यको अपव्याख्या नगर्न र शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा आवश्यक सहयोग पु¥याउन समेत आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *