माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण दाेश्राे दिन – २)

प्रव्रज्याको दोस्रो दिन
पाइला पाइला प्रति होस राख्दै बिते

सुनीता तुलाधर शिल्पकार, ललितपुर ।

भगवान बुद्धको जन्मस्थान भनेर विश्वमा चिनिएको नेपालका लागि मात्र नभई विश्वकै लागि २०७९ साल चैत्र २३, ऐतिहासिक दिन नै भएर बित्यो । विश्वभरिका बौद्धहरुको लागि यो दिन अविस्मरणिय रहनेछ, चिरकाल सम्म पनि – माझखण्ड बुद्ध विहारमा भएको ‘सतकुलपुत्त दुर्लभ अल्पकालिन श्रामणेर प्रव्रज्या’ समारोह ।
विशेष दिनको दोश्रो दिन पनि विशेष नै रहेको थियो । बिहान सवेरै ५ बजे नै नवश्रामणेरहरु उठ्न शुरु गरिसकेका थिए । स–साना हातहरुले आफ्ना आँखाहरु मिच्दै के खोलेका थिए, आफुहरुलाई फरक रुपमा देखे, पहेंलो चीवरको पहिरनमा आफुहरु मात्र होइन, वरपरका सबै नवश्रामणेर साथीहरु पनि पहेंलो पहिरनमा नै पाए । उनीहरुको पहिरन मात्र फरक थिएन, धेरै कुरामा फरक थिए । परिवार, घर, साथी भाइ, धन सम्पत्तिका साथै उनीहरु आफ्ना नराम्रा आचारणहरु समेत त्याग गर्नको लागि तयारी गर्दै थिए । पाउन होइन, मात्र छोड्ने क्रिया सिक्दै थिए, बस सिक्दै गएका थिए ।

 

 

 

 

माझखण्ड बुद्ध बिहारको धम्महल भित्र रहेको भगबान बुद्धको ठूलो प्रतिमाको अगाडि नवश्रामणेरहरु आफ्ना साथीहरुसँग जम्मा हुन थालि सकेका थिए । बिहानको ५ः३० बजे गिन भन्ते पछि पछि सबैजनाले बुद्धपुजा ध्यान भावना गरेका थिए ।
बिहानको ८ बजेको जलपानपछि सरसफाई गरेर ९ बजे बिहानीे कक्षाका लागि सबैजना हाल बन्दै गरेको अनागारिका भवनमा जम्मा भए । केहि नौलो कुरा सिक्न आ–आफ्नो स्थानमा बसिसकेका थिए । त्यसबेला भिक्षु बोधिज्ञान महास्थविरले चंक्रमण ध्यान भावना के हो र कसरी गर्ने भन्ने तरीका सिकाउँदै हुनुहुन्थ्यो ।


चंक्रमण ध्यान भावना भनेको होसपूर्वक हिंड्नु हो । हिंड्दा कहाँ कस्तो सम्वेदना अनुभव भयो त्यसलाई स्मृतिपूर्वक अनुभव गर्न उहाँले नवप्रव्रजितहरुलाई निर्देशन दिनुभयो ।
चंक्रमण गने विधि उहाँले यसरी सिकाउनु भयो –
१. सबैभन्दा पहिला आफ्नो ढाड सिधा पारेर उभिने ।
२. अगाडि जाँदा कुन पाइला अगाडि सार्ने हो, त्यहि पाइला सार्दैछु भनेर मनमनै भन्ने, जस्तो कि बाँया पाइला अगाडि सार्न लागेको भए बाँया पाइला अगाडि सार्दैछु भनेर मनमनै भन्नु पर्दछ ।
३. दाँया पाइला अगाडि सार्न लागेको भए दाँया पाइला अगाडि सार्दैछु भनेर मनमनै भन्नुपर्दछ ।
४. अगाडि जाँदै गर्दा दाँया बाँया पछाडी नहेरी सिधा अगाडि मात्र हेर्नुपर्दछ । हेर्ने बेलामा आँखा तलतिर मात्र झुकाएर हिंड्नुपर्दछ ।
५. हिंड्दा हात खुल्ला नराखि पेटतिर बाँया हातको माथि दाँया हात राख्ने ।

चंक्रमण पाेखरी डाँडा माझखण्ड (विशेष शाक्य)

६. हिंड्दै गर्दा आफ्नो पाइतालाले तातो–चिसो, साह्रो–नरम, सुख्खा–ओसिलो, दुखद–रमाइलो जस्तो जस्तो अनुभव भयो त्यसलाई स्मृतिपूर्वक अनुभव गर्दै अघि बढ्नुपर्छ, घाँसमा पाइला राखेको समयमा नरम अनुभव भयो कि, ढुंगामा पाइला राखेको बेला, काँडाले घोचेको बेला, धूलोमा हिंड्दा, चिसो माटोमा हिंड्दा कस्तो अनुभव भयो थाहा पाउने ।
७.स्मृति राखि अगाडि बढ्दै जाँदा गर्मी–जाडो, सजिलो–गाह्रो, रमाइलो कस्तो मनमा आयो त्यस्तै भाविता गर्ने ।
८. यसरी चंक्रमण जाँदा जुत्ता, चप्पल, मोजा केही पनि नलगाई खाली खुट्टाले हिंड्ने ।
यसपछि गुरु भन्ते सिधा उभिनु भई दायाँ खुट्टा उचाल्न मन लाग्यो, उचाल्दै छु भनि दायाँ खुट्टा उचाल्नभयो । सार्न मन लाग्यो, सार्दैछु भनि दायाँ खुट्टा सार्नुभयो र राख्दैछु भन्नुभई सो खुट्टा राख्नुभयो । यसरी दायाँ खुट्टा सारीरहेको बेला बायाँ खुट्टा नचलाउन निर्देशन दिनुभयो ।
अब पालो बायाँ खुट्टाको । बायाँ पनि दायाँ सारे जस्तै सार्नुपर्दछ भनी उहाँले बायाँ खुट्टा पनि होसपूर्वक बिस्तारै अगाडि सारेर देखाउनुभयो । यसैगरी फेरी दायाँ अगाडि सार्नुपर्छ अनि फेरी बायाँ । यसरी क्रमशः दायाँ र बायाँ गर्दै खुट्टा अगाडि सार्दै हिंड्नुपर्छ भनी उहाँ अफैले गरेर पनि देखाउनुभयो । जनुबेला उहाँको दुबै हात पेटमा र दृष्टि भूईंमा खुट्टा भन्दा अलि अगाडि थियो ।

चंक्रमण माझखण्ड (विशेष शाक्य)

त्यसपछि सबै श्रामणेरहरुलाई दुई समूहमा विभाजन गरी उभ्याउनुभयो । र पहिला एउटा समूहलाई उभिंदैछु, जान मन लाग्यो, दायाँ सार्न मन लाग्यो, सार्दैछु भनी मुखबाटै भन्न लगाउनु भई दायाँ खुट्टा अगाडि सार्न निर्देशन दिनुभयो । यहि क्रम दोहोर्याउनु हुँदै बायाँ खुट्टा पनि सार्न लगाउनु भई बिस्तारै अघि बढाउनुभयो । यहि निर्देशन पुनः दोश्रो समूहलाई पनि दिनुभई हिंड्न सिकाउनुभयो ।
उनीहरुले शुरुमा अलि अप्ठयारो महसुस गरेतापनि पछि सबैजनाले चंक्रमण ध्यान अभ्यास रामैसँग गरेका थिए ।
आजको दिन पोखरी डाँडासम्म खाली खुट्टाले चंक्रमण जाने र त्यहीं जंगलमा रुखमुनि केही समय ध्यान पनि बसिने बताउनुहुँदै उहाँले बसेर ध्यान गर्ने विधि पनि सिकाउनु भयो ।
ध्यान गर्ने बेलामा आँखा खोल्न नपर्ने भएकोले चस्मा फुकाल्ने । आफ्नो ढाड, कम्मर, घाँटी सिधा पारेर बस्ने । एउटा खुट्टा भित्र एउटा खुट्टा बाहिर राख्ने । हात खुल्ला नराखि एउटा खुट्टाको गोलि गाँठोको माथि बायाँ हात राख्ने । बायाँ हातको औंलाहरुको माथि दाँया हातको औंलाहरु राख्ने । दुबै हातका बुढी औंलाहरुले एकअर्कालाई छुवाउने मात्रै ।
त्यसपछि आँखा खुल्ला छ भनी मनमनै भन्ने र आँखा बन्द गर्न मन लाग्यो भनी मनमनै भन्ने । त्यसपछि आँखा बन्द गर्दैछु भनी मनमनै भन्दै भन्द आँखा बन्द गर्ने । त्यसपछि मनलाई पेटतिर पठाएर श्वास लिंदा पेट फुल्दैछ भनेर भाविता गर्ने श्वास फेर्दा पेट सुक्दैछ भनेर भाविता गर्ने । यस्तै गरि मन पेटमा केन्द्रित गर्ने ।
ध्यान अवधि सकिएपछि आँखा खोल्न पर्यो भने आँखा बन्द भैरहेको छ भनेर मनमनै भन्ने । त्यसपछि आँखा खोल्न मन लाग्यो, आँखा खोल्दैछु, आँखा खोलें भनि मनमनै भनिसकेपछि मात्र आँखा खोल्नुपर्छ भनेर भिक्षु बोधिज्ञान महास्थविरले नवश्रामणेरहरुलाई प्रयोगात्मक विधि सिकाउनु भएको थियो ।
कक्षामा नै सबैजनाले गुरु भन्तेको निर्देशनमा राम्ररी ध्यान भावना गर्न जानिसकेका थिए भने कहिलेकाहिँ उनीहरु भने एउटा आँखा आधि खोलेर घरि घरि अगाडि, दायाँ बायाँ र पछाडि पनि हेर्थे । त्यस कक्षा पछि उनीहर सबैजना केहि अमूल्य चिज प्राप्त गरे जस्तो प्रफुल्ल मुद्रामा देखिएका थिए ।
घडीको सानो सुई १ र ठूलो सुई ६ मा पुगेपछि दिउँसोको कक्षाको समय थियो । कक्षा कोठाको चार पर्खाल भित्र मात्र सिमित नभएर खुल्ला आकाश मुनि धर्तीमा खाली खुट्टाले टेकेर निस्रयाचार्य गुरुभन्ते बोधिज्ञान भन्तेको निर्देशनमा नवश्रामणेरहरु क्षण प्रति क्षण होश पुर्याउँदै, हातमा आफ्नो आसानको लागि म्याट र पानी पिउनको लागि मिनिरल वाटर बोतल लिएर जंगलको बाटोहरुमा उकालो ओरालो गर्दै चंक्रमण ध्यान गर्दै पोखरीडाँडामा गएका थिए । चंक्रमण जाँदै गर्दा कुनै बेला साना साना ढुंगाहरु भएका बाटाहरु आए, कुनै बेला घाँसै घाँस भएका बाटाहरु आए, कुनै बेला त ठाडो उकालो बाटाहरु आए, कुनै बेला यति धेरै साँघुरो बाटो आए कि एकपटकमा एकजना मात्र हिड्न सकिन्थ्यो । तर उनीहरु कतै विचलित नभई आफुले गर्नुपर्ने अभ्यास शान्त दान्त तरीकाले गर्दै अगाडि बढ्दै गए ।

चतु अारक्खा भावना पाठ (विशेष शाक्य)

पोखरीडाँडा पुगेपछि चंक्रमण जानुभएका सबैजनालाई ‘नमामि बुद्धं गुण सागरन्तं …’ भन्न सिकाउनुहुँदै गुरु भन्ते बोधिज्ञान भन्तेले ‘चतु आरक्खा भावना’ पाठ गराउनुभयो । यसपछि गुरु भन्तेले रुखमुनि ध्यान भावना भाविता गर्ने निर्देशन मात्र के दिनु भएको थियो, नवश्रामणेरहरु धमाधम आफुलाई मन परेको रुखको मुनि बस्न थाले । बाल स्वाभाव त हो, यताउता जान मन गर्ने । अलिपर धेरै नै भिरालोमा भएको रुखमुनि बस्न गएकाहरुलाई सुरक्षित ठाँउमा फर्काएर ध्यान भावनामा गराउनु परेको थियो ।
बिहानको कक्षामा गुरुभन्तेले दिनुभएको निर्देशन अनुसार नवश्रामणेरहरुले जंगलको रुख मुनि आँखा चिम्लेर ढाड सिधा पारेर टाउको नझुकाइकन श्वास आएको र श्वास गएको कुरालाई भाविता गर्दै गरेका थिए ।
पोखरीडाँडाको जंगलमा ध्यान भावनापछि जंगलबाट पुनः चंक्रमण ध्यान गर्दै माझखण्ड बुद्ध विहार पुगेका थिए । विहार पुगेपछि उनीहरुले हातखुट्टा सफा गरी आफूहरुलाई प्राप्त भएको दुध पिएका थिए । त्यसरी चंक्रमण र जंगलमा ध्यान भावना गर्दा आफूलाई आनन्द लागेको र अनौठो अनुभूति महसुस भएको कुरा बताएका थिए ।
यसरी सो दिन चंक्रमण र जंगलमा ध्यान गर्न जानेहरु नवश्रामणेरहरु मात्रै थिएनन् । यस कार्यक्रमका लागि व्यवस्थापन र अन्य कुराहरुमा महत्वपूर्ण सहयोग गर्नुहुने थाइल्याण्डका धम्मकायका भन्तेहरुमा प्रव्रज्याका अर्का निस्रयाचार्य थाई गुरु भन्ते कित्ति फोङ लगायत थाईल्याण्ड धम्मकायका भिक्षुहरु, भियतनामका भिक्षु एवं भारतका भिक्षु, नेपालका अनागारिका गुरुमाहरु, नेपाल तथा थाई उपासकउपासिकाहरु समेत सहभागी थिए ।
साँझको ६ बजेतिर बुद्धपूजा र ध्यान भावना गर्ने समय भएकोले बुद्ध धर्म संघको गुणलाई स्मरण गर्दै नवश्रामणेरहरुले मन लगाएर राम्ररी पाठ गर्नु भएको थियोे । राती ९ बजे बत्ती निभाएर सुत्ने समय, दिनभरि आफुहरुले गरेका कुशल कर्महरु एकअर्कासँग साटासाट गर्दै आनन्दपूर्वक सुतेका थिए ।
चिरं तिट्ठतु बुद्धशासान ।
साधु ! साधु ! ! साधु ! ! !
क्रमशः …

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *