बागमति प्रदेश सांसद वैद्यले आत्मालोचनासहित माफी मागे

भक्तपुर, जेठ २९
बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रवार बसेको संसद बैठकमा बोल्दै आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिनुका साथै माफी समेत माग्नुभएको छ । प्रदेश सभामुख सानुकमार श्रेष्ठसँग विशेष समय लिएर वैद्यले आफुले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिनुका साथै माफी माग्नुभएको हो ।
वैद्यले वाक स्वतन्त्रताको प्रयोग गरेर निर्धक्कसँग बोल्न पाउने अधिकारको प्रयोग गर्दै बोल्ने क्रममा आफूले आवश्यकताभन्दा धेरै बोल्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन । संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहँदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु । त्यसलाई म फिर्ता लिन चाहान्छु ।’
शुक्रबारको बैठकमा वैद्यले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफु गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । उहाँको सो अभिव्यक्तिको चौतर्फी विरोध हुनुका साथै उहाँको पार्टी नेपाली कांग्रेस, नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलले समेत वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र माफी माग्न निर्देशन दिएको थियो ।
वैद्यले आफूले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएको र पार्टीले पनि आत्मालोचना गर्न निर्देशन दिएकोले आफ्नो अभिव्यक्ति फिर्ता लिएको घोषणा गर्नुभयो । ‘म महात्मा गान्धीलाई धेरै नै मान्ने मान्छे हो। बोलेर पनि कसैलाई हिंसा गर्नु हुँदैन भन्ने मलाई लाग्छ,’ उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधिले गर्दा आवेगमा आएर मैले त्यस्तो बोल्न पुगेछु ।’
सांसद वैद्यले लिखित रुपमा अभिव्यक्ति फिर्तासम्बन्धी पत्र पढेर माफी माग्नुभएको थियो । उहाँले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *