विधिवतरुपमा दशैंको मासु भित्र्याएर नेवार समूदायले कुछि भ्वय् खाई महाअष्टमी मनाईंदै

भक्तपुर, कार्तिक ५
मोहनी नखःको आज आठौं दिन नेवार समूदायले विधिवतरुपमा दशैंको मासु भित्र्याएर कुछी भ्वय खाई महाअष्टमी पर्व मनाउँदैछन । बडादशैंलाई महोनी नखःको रुपमा मनाउने नेवार समूदायले महाअष्टमीको साँझ कुछी भ्वय खाएर पर्व मनाईन्छ ।
विशेष गरेर अष्टमीलाई कुछि भ्वय्, नवमीलाई स्याक्वट्याक्व नखः र दशमीलाई चाँलको रुपमा भवानीको प्रसाद ग्रहण र टिकासँगै नेवार समूदायले मोहनी नखः मनाईन्छ ।
आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात जमरा राखेर नेवार समुदायले मोहनी नखःको शुरुवात गर्दछन भने अष्टमीको दिन कुछि भ्वय् खाँदै मोहनी नखःको भोजको शुरुवात गर्दछन । कुछि भ्वय् खाएदेखी दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन समेत रहेको छ ।
वर्षभरी मनाईने चाडपर्व मध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखः मनाउन घर परिवारदेखी टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यसाय गर्नेहरु समेत घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाईहरु पनि एउटै घरमा घरका जेष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखः मनाउने गर्दछ ।
विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समूदायमा अष्टमीको खाने कुछी भ्वय्को विशेष महत्व रहेको छ । यसको परिकार समेत अन्य भोजको भन्दा भिन्न प्रकारको हुन्छ ।


कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला (पोलेको मासु) पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताउनुभयो । कुछी भ्वय्मा फलफुलमा अम्बा र केरा अनिर्वाय मानिन्छ ।
कुछि भ्वय् खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको धौभडेलले बताउनुभयो । थापिँचा स्वने बेला माटोको सानो घैंटोलाई सलिँचाले घैंटोलाई छोप्ने र त्यसमाथि राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको धौभडेलले बताउनुभयो । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादको रुपमा खाईन्छ । यो प्रसाद खाँदा पेट सम्बन्धी विकार हट्ने विश्वास रहेको छ ।
आफन्तको मृत्यु भएर जुठो परेपनि कुछी भ्वय् खानु पर्ने मान्यता केही नेवार समूदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ । नयाँ बुहारी ल्याएको घरमा दाजुभाईलाई विवाह भोज खुवाएको छैन भने ती नयाँ बुहारीलाई कुछि भ्वय्मा सहभागी नगराउने प्रचलन समेत रहेको छ ।
नेवार समूदायमा कुछि भ्वय्को सन्दर्भमा दुई वटा भनाई प्रचलनमा रहेको छ । एकथरी भनाई अनुसार कुछिको अर्थ दुई माना हो भने भ्वय्को अर्थ भोज हो । दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाई रहेको छ भने अर्को थरी संस्कृतीकर्मीहरुले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाई रहेको छ ।
अष्टमीको दिन नै मोहनी नखः मनाउन नेवार समूदायले घरघरमा दशैंको मासु भित्र्याईन्छ । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार अष्टमीको बिहान दशैंको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मुलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *