बालकरामले जिब्रो छेडेर थिमि देखी पशुपतिसम्म पैदल परिक्रमा गर्ने

भक्तपुर, असोज ४
मध्यपुर थिमिका बालकराम नानीचा श्रेष्ठले यसवर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएको छ । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा बिहिवार स्थानीय निलबर्ण बिहारमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिनुभएको हो ।
बालकरामले दोस्रो पटक जिब्रो छेड्न लाग्नु भएको हो । उहाँले यसभन्दा अघि २०७५ सालमा जिब्रो छेडाउनु भएको थियो ।
मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुन्छ । बिस्काः (बिस्केट) जात्राको अवसरमा बैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात आश्विन शुक्ल पुर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । सो अनुसार यसवर्ष यही असोज १२ गते थिमिमा येंयापुन्ही या म्ये प्वा खनेगु (जिब्रो छ्ड्ने)जात्रा हुँदैछ । बोडेको जात्राले सदियौंदेखी निरन्तरता पाइरहेको छ भने दिगुलीको जात्रा नियमित सञ्चालन भएको पाईंदैन ।
लामो समय रोकिएको यो जात्राले २०७४ सालमा पुनर्जिवन पाएको थियो । करिव दुई दशक रोकिएको यो जात्रालाई २०७४ सालमा विरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुर्नजिवन दिनुभएको थियो । २०७५ मा बालकरामले जिब्रो छेडाए भने २०७६ सालेदेखी कोरोना महामारीका कारण रोकिएको यो जात्रा गत वर्ष पुनः विरेन्द्रभक्तले जिब्रो छेडाएर निरन्तरता दिनुभएको थियो ।
बोडेको जिब्रो छेड्ने जात्रामा निश्चित मार्ग भएपनि थिमि दिगुलीमा हुने जात्राको निश्चित मार्ग नभएको स्थानीय संस्कृतिकर्मी प्रदिप जामन श्रेष्ठले बताउनुभयो । यो जात्रामा जिब्रो छेडाउने व्यक्तिले ईच्छाएको मार्गमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।
“येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडाएर नगर परिक्रमा गर्दा यही नै निश्चित मार्ग भन्ने छैन । विशेष गरी जिब्रो छेडाउने व्यक्तिले ईच्छाए अनुसारको मार्ग तय हुन्छ,” संस्कृतिविद श्रेष्ठले भन्नुभयो, “यो भन्दा पहिले पनि जिब्रो छेडाएर पशुपतिनाथ र चाँगुनारायणको दर्शन र परिक्रमा गरेको ईतिहास पाईन्छ ।”
मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामको साहसले भावी पुस्तालाई जात्राप्रति आकर्षित गर्ने र नयाँ पुस्तामा जिब्रो छेडाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले बालकरामको संस्कृति प्रतिको लगावलाई उच्च सम्मान दिनुपर्ने बताउनुभयो । “जिब्रो छेडाएर बाँसले निर्माण गरिएको महादिप काँधमा बोकेर थिमिदेखी पशुपतिनाथको दर्शन गरी पुनः थिमिसम्म पैदल यात्रा गर्नु निक्कै कठिन कार्य भएपनि बालकरामले जुन सहास देखाउनुभएको छ, उहाँको संस्कृति प्रतिको जुन लगाव छ, त्यसलाई उच्च सम्मान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
नगरको मुर्त अमुर्त कला संस्कृतिको संरक्षणमा लगानी गर्दै आइरहेको मध्यपुर थिमि नगरपालिकाले जिब्रो छेड्ने जात्रालाई पनि आर्थिक सहयोग उपलब्ध गराउँदैं आएको छ । सोही अनुसार यसवर्ष पनि नगरपालिकाले उचित सहयोग उपलब्ध गराउने उपप्रमुख श्रेष्ठले बताउनुभयो ।


थिमिको जिब्रो छेड्ने जात्राको लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने चलन रहेको छ । त्यसको लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्दछ र रातोभालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन समेत रहेको छ । ईन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरि छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ ।
त्यसको भालिपल्ट येंया पुन्ही अर्थात आश्विन शुक्ल पुर्णिमाको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ ।
डवलीमा सयौं जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सुइरो निकालिन्छ ।
सुईरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि सुईरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छ । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।
जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *