साहित्यिक पत्रिका ‘चक्रपाणि’ सार्वजनिक

भक्तपुर, भदौ १७
साहित्यिक पत्रिका ‘चक्रपाणि’ सार्वजनिक भएको हो । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा सो साहित्यिक पत्रिका ‘चक्रपाणि’ सार्वजनिक भएको हो । प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमाल निभाले सो पत्रिका सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा उपकुलपति निभाले भक्तपुर कला संस्कृतिको केन्द्रमात्र नभएर साहित्य र सभ्य राजनीतिको केन्द्रसमेत भएको बताउनुभयो । आफ्नो पुस्ता भक्तपुरकै भएका कारण पनि यहाँ हुने सिर्जनात्मक, कला, साहित्य, सांस्कृतिक र राजनीतिक गतिविधि निकै रोचक र प्रिय लाग्ने उहाँको भनाइ थियो ।
उहाँले भक्तपुरको कटुञ्जेमा जन्मेका चक्रपाणि चालिसे नेपाली भाषा र साहित्यको राम्रो सेवा गर्ने व्यक्तित्वका रूपमा परिचित रहेको चर्चा गर्दै उनको नाममा स्थापित पत्रिकाले पनि साहित्यको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रिकाको सम्पादन प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषले गर्नुभएको छ । पत्रिका सार्वजनिक भएपछि लेखक एवं समालोचकद्वय विन्दु शर्मा र महेश पौड्यालले टिप्पणी राख्नुभएको थियो ।
शर्माले पत्रिकाका सामग्री समावेशी र उत्कृष्ट भएको बताउँदै अझै स्तरीय बनाउन सुझाव दिनुभयो । उहाँले समावेशी सिद्धान्तमा आधारित पत्रिका भएपनि समावेशी सिद्धान्तका आधारभूत कुरामा ध्यान नदिइएको बताउँदै उद्देश्य न्यायिक रहेकाले आगामी अंकदेखि विशेष योजनासहित काम गर्न सझाउनुभयो ।
अर्का समलोचक महेश पौड्यालले पत्रिकाका विशेषतामाथि प्रकाश पार्दै कमजोर पक्ष औंल्याउनुभयो । उहाँले पत्रिकाका न्यूनतम मापदण्ड अपनाउँदै पत्रिकामा समावेश सामग्रीमा विविधतापूर्ण भएको बताउनुभयो । विशेष खण्डमा पारिएका कवितालगायतका साहित्यिक सामग्री आकर्षक भए पनि लेखहरू उस्तै र दोहरिनु कमजोर पक्ष भन्दै अर्को अंकमा ध्यान दिन आग्रह गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राधिका कल्पित, कञ्चन गजमेर, प्रजेश खड्का, रमि प्रिया, पञ्चकुमारी, रचना मोक्तान, सामना पहाड, शान्तिराम भट्टराई, कृष्ण बाउसे, सुमित्रा सुमिलगायत २४ कविले कविता वाचन समेत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *