नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको दोस्रो सम्मेलन सम्पन्न

भक्तपुर, भदौ १७
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीमा नयाँ पुस्तालाई गोलबद्ध गरेर कांग्रेसमा एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको शनिवार चित्तपोलमा आयोजित दोस्रो नगर सम्मेलनमा सहमहामन्त्री पाण्डेले कम्युनिष्ट लगायत अन्य नयाँ दलको चर्चा गर्नुभन्दा नयाँ पुस्तालाई पार्टीमा गोलबद्ध गरेर कांग्रेसलाई एकतावद्ध बनाएर लैजान निर्देशन दिनुभएको हो ।
उहाँले नयाँ दललाई टिकटके दलको संज्ञा समेत दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ दल बडो चमकधमकका साथ टिकटके शैलीमा अगाडि आएका छन । त्यतातर्फ ध्यान दिन जरुरी छैन । नयाँ पुस्तालाई पार्टीमा गोलवद्ध गरेर कांग्रेसलाई एकता, उत्साह र रुपान्तरणका लागि लाग्नुस् र पार्टीलाई एकताका साथ बलियो बनाउनुहोस् ।”
उहाँले कांग्रेसका जनप्रतिनिधिहरुलाई जनताको गुनासो नआउने गरी काम गर्न निर्देशन समेत दिनुभयो । “कांग्रेसको छवि अग्लो बनाउने जिम्मेवारी जनप्रतिनिधिहरुको काँधमा रहेको छ । वडादेखि संघीयसम्ममा जहाँ जहाँ काँग्रेसका उम्मेदवार विजयी हुनु भएको छ, यही बेला हो, आफ्ना क्षेत्रमा कार्य गरेर देखाउने । कांग्रे्रेसको शासन, सेवा प्रवाह अरुले गरेको भन्दा राम्रो छ भनेर जनताको मन र विश्वास जित्ने गरी काम गर्नुस्” उहाँले भन्नुभयो ।


उहाँले विपी जयन्तीमा साहित्य महोत्सवमार्फत विपिको विभिन्न व्यक्तित्वको बारेमा चर्चा हुने समेत जानकारी दिनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले राणा र पञ्चायत ढालेको कांग्रेसले कसैले सिध्याउँछु भन्नु दिवा सपना मात्र भएको बताउनुभयो । उहाँले पार्टीमा टिकट वितरण क्रियाशिल सदस्यको मतको आधारमा दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताउँदैं मुलुकको निर्वाचन प्रणाली समेत परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले खाना पकाउने एलपी ग्यास, डिजल र पेट्रोलमा गरिएको मूल्यबृद्धि फिर्ता लिन माग गर्नुभयो । उहाँले कांग्रेस एक भएर लागे भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसले कहिल्यै निर्वाचन नहार्ने गएको निर्वाचन परिणामले पुष्टि गरेको बताउँदैं नेता कार्यकर्तालाई गुटगत राजनीतिबाट माथि उठेर काम गर्न आग्रह गर्नुभयो ।
उहाँले पार्टीको १५ औं महाधिवेशनमा भक्तपुर जिल्ला सभापति बन्न चाहने नेता कार्यकर्तालाई अहिलेदेखी आम कार्यकर्ताको मन जित्ने गरी पार्टीलाई संगठित गरेर अघि बढ्न समेत आग्रह गर्नुभयो ।
उहाँले पार्टीमा लिन आउने भन्दा पनि दिन आउनेको मूल्यांकन हुने बताउँदैं आफ्नै भवन निर्माण गर्न जग्गा खरिद गरिसकको र अब भवन निर्माण कार्य अगाडि बढाउन लागेको जानकारी दिनुभयो ।


नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले कांग्रेसले नीति निर्माण राम्रो गरे कांग्रेस पनि बलियो बन्ने र आगामी दिनमा सूर्यविनायक नगरपालिकामा पनि कांग्रेस निर्वाचित हुने दावी गर्नुभयो ।
कांग्रेस भक्तपुरका पुर्वसभापति एवम् पुर्व सांसद लेखनाथ न्यौपानेले कांग्रेस केन्द्रले भक्तपुरलाई सधै हेला गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आन्दोलनमा भक्तपुर अगाडि हुन्छ तर भक्तपुरलाई केन्द्रले सधै हेला ग¥यो । जेल पर्ने नेपालमा भक्तपुरे नै धेरै तर किन भक्तपुरलाई केन्द्रले हेला गरेको छ ? यसतर्फ ध्यान केन्द्रको जाओस ।”
बागमती प्रदेशका पुर्वमन्त्री कृष्णलाल भँडेलले जग्गाको प्लटिङमा बाटो पुर्याउँदैमा विकास नहुने टिप्पणी गर्दै कांग्रेसले गरेका काम जनतालाई बुझाउन नसक्दा कांग्रेस पछि पर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु मदनकृष्ण श्रेष्ठ र रमा कोइराला, नेपाली कांग्रेस चाँगुनारायण नगरसभापतिलगायतले नेपाली कांग्रेसको मूल मर्म, विचार र सिद्धान्त युवापुस्तामा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा नेपाली कांग्रेस सूूर्यविनायक नगर सभापति निशान ढुङ्गेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नगरका ५८ वटा गाउँटोल इकाईदेखि नै मजबुद र एकताबद्ध बनाएर लगेको बताउनुभयो ।
कार्यक्रममा सचिव विश्वराम थापा, सुमन न्यौपानेले नीति तथा सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले आर्थिक प्रतिवदेन पेश गर्नुभएको थियो । कार्यक्रममा कांग्रेसका पुराना कायर्यकर्ता एवं प्रजातन्त्र ल्याउन लाग्ने आठ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *