अन्ततः ७१ औं दिनमा रुखबाट झिकियो ‘क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट’

भक्तपुर, साउन ३१
रुखमा झुण्ड्याएको भक्तपुर बहुमुखी क्याम्पसको कुर्सी र नेमप्लेट अन्ततः ७१ औं दिन झिकिएको छ । क्याम्पस प्रमुख नियुक्ति विवादमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रुखमा झुण्ड्याएको सो कुर्सी र नेमप्लेट सोमवार झिकिएको हो । कुर्सी र नेमप्लेट झिकिएपनि क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा लगाएको तालाबन्दी भने यथावत रहेको छ ।
नेविसंघले एक विज्ञप्ती जारी गर्दै विद्यार्थी भर्नाको समय आएकोले त्रिवि प्राध्यापक संघ भक्तपुर बहुमखी क्याम्पस इकाई समितिको पहलमा त्रिवि कर्मचारी संघ भक्तपुर बहुमखी क्याम्पस इकाई, स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमखी क्याम्पस इकाई समेतको अनुरोधमा लेखा शाखामा लगाएको ताला खोल्ने र क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट रुखबाट झिक्ने निर्णय गरेको जनाएको छ ।
भर्नाको समय आइरहेको कारणले कुर्सी टाँगिरहँदा भर्ना गर्न आउने विद्यार्थीहरुमा पर्न जाने सन्देशलाई समेतलाई दृष्टिगत गर्दै रुखबाट कुर्सी र नेमप्लेट झिक्ने निर्णय भएको नेविसंघले जनाएको छ ।
नेविसंघले क्याम्पस भित्रको विकृति, विसंगती, वेथिती विरुद्ध थालिएको आन्दोलन भने निरन्तर जारी रहेको जनाएको छ । नेविसंघ भक्तपुर बहुमखी क्याम्पस इकाइ समितिका सचिव दिप गिरीले जारी गरेको विज्ञप्तीमा विश्वविद्यालय र क्याम्पस प्रतिको उदार र जिम्मेवार भूमिकालाई गलत रुपले बुझी अपव्याख्या नगर्न चेतावनी दिँदैं क्याम्पसमा वरिष्ठतम प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने माग यथावत रहेको उल्लेख छ ।
“क्याम्पस प्रशासन सुधारतर्फ गएन र प्रतिकुल परिस्थिति सिर्जना गरी वातावरण धमिल्याउने प्रयास गरेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी प्रशासन स्वयम्ले लिनुपर्ने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ,” विज्ञप्तीमा उल्लेख छ ।
नेविसंघले लामो समयसम्मको तालाबन्दी गर्नु रहर नभएर बाध्यता भएको जनाउँदैं क्याम्पसको असहज स्थितिको समाधान गर्न प्रशासन गम्भिर नभएको विज्ञप्तीमा उल्लेख छ । लामो समयसम्म तालाबन्दी गर्दा प्रध्यापक र कर्मचारीले पारिश्रमिक नपाएको कारण पर्न गएको असुविधाप्रति नेविसंघले क्षमायाचना समेत गरेको छ ।
वरिष्ठ प्राध्यापकलाई पन्छाएर कनिष्ठलाई क्याम्पस प्रमुख नियुक्त गरेको र निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई अपमानपूर्ण व्यवहार गरिएको भन्दै त्यसको विरोधमा नेविसंघले गत जेठ २२ गते क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट रुखमा झुण्ड्याउनुका साथै क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *