भक्तपुरमा ठूलो मात्रामा नक्कली नेपाली नोट बरामद

भक्तपुर, साउन २६
प्रहरीले भक्तपुरको चाँगुबाट बिहिवार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । नक्कली नेपाली नोट सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरी वृत्त थानकोट काठमाण्डौं र प्रहरी प्रभाग चाँगुको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट १५ लाख रुपैंया नेपाली नक्कली नोट बरामद गरेको हो ।
प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोवारमा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेकाहरु मध्ये सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षिय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी एक हजार ५ सय थान एक हजार दरका नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।
प्रहरीका अनुसार सुवेदीको डेरामा गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर १ थान, कम्प्युटर १ सेट, मोबाईल १२ थान र ४ वटा स्कुटर समेत बरामद गरेको एसपी केसीले जानकारी दिनुभयो ।
एसपी केसीका अनुसार प्रहरी वृत्त थानकोटले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घरभई हाल काठमाण्डौं मुलपानी बस्ने २१ वर्षिय मिलन भण्डारी, ३२ वर्षिय शिव भण्डारी र २३ वर्षिय श्रीकृष्ण भण्डारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई काठमाण्डौं पेप्सीकोला सनसिटी बस्ने २६ वर्षिय सुशिल कार्कीलाई पक्राउ गरी कारवाही गरिरहेको छ ।
यसैगरी नवलपरासी सराबल गाउँपालिका–१ घर भई हाल काठमाण्डौं बस्ने पार्वती नेपाली, गुल्मी बडागाउँ गाउँपालिका–२ घरभई हाल काठमाण्डौं सामाखुसी बस्ने २७ वर्षिय सागर आचार्य, अछाम घरभई हाल काठमाण्डौं मातातिर्थ बस्ने २३ वर्षिय अर्जुन बुढा, झापा घरभई हाल काठमाण्डौं समाखुसी बस्ने २४ वर्षिय युवराज राईलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बरामद भएका सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको एसपी केसीले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *