एन प्याव्सन र हिसानबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता

भक्तपुर, असार २३
एन प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । शुक्रवार मात्र प्याव्सनसँग छात्रवृत्ति सम्बन्धी सम्झौता गरेको हिसानले शनिवार एन प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुटदिने लगायत विभिन्न विषयमा सम्झौता गरेको हो ।
सम्झौता अनुसार हिसान भक्तपुर आवद्ध जनप्रेमी वल्र्ड कौशलटार, सिवर्ड कलेज थिमि, एसएस कलेज थिमि, सुप्रिम एकेडेमी कमेरोटार, सूर्यदिप ईङ्गलिस स्कुल सल्लाघारी, एरुडाईट एकेडेमी लोहकिल्थली, विनायक शिक्षा निकेटन थिमि, काठमाण्डौं वल्र्ड स्कुल गुण्डु, भक्तपुर ईङ्गलिस सेकेण्डरी स्कुल गठ्ठाघर, अक्सफोर्ड प्राक्टिकल सेकेण्डरी स्कुल सल्लाघारी, भक्तपुर निष्ट लोहकिल्थली र मोर्डन कलेज सल्लाघारी गरी १२ वटा दश जोड दुई कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुले एनप्याव्सन आवद्ध विद्यालयबाट एसईई उत्तिर्ण विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिईनेछ ।
यसैगरी विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीले एसईईमा पाएको अंक, उसको क्षमता र प्रवेश परिक्षाको नतिजाको आधारमा पनि विद्यार्थीले छुटलगायत छात्रवृत्ति पाउनेछन ।
दुई संस्थाले अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व विकास, अध्यापनरत शिक्षकहरुको सीप अभिबृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने र भक्तपुरका विद्यार्थीहरुलाई भक्तपुरमै कक्षा ११ र १२ पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्तरुपमा कार्यक्रम गर्दै जाने सहमती समेत भएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले एन प्याव्सन र हिसान आवद्ध विद्यायहरुबीच सदैव सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न एक आपसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो ।
“हामी कक्षा ११ मा भर्ना गर्ने बेलामा मात्र होइन कक्षा ८ मा कुनै विद्यार्थी अन्य विद्यालयबाट आउँछ भने उसको अघिल्लो विद्यालयसँग समन्वय गरोस भन्ने चाहन्छौं । यसले मात्र हामीबीच स्वस्थ प्रतिष्पर्धा र एक आपसमा सहयोगी भावनाको विकास गराउँछ,” उहाँले भन्नुभयो । उहाँले सम्झौतालाई आगामी वर्षमा पनि निरन्तरता दिनुपर्ने सुझाव समेत दिनुभयो ।
उहाँले पत्रकारिताको माध्यमबाट पनि भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पत्रकारहरुले पनि सहयोग गर्नुपर्ने धारणा राख्दै त्यसका लागि एन प्याव्सन संस्थागतरुपमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।


कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले जिल्लामै उत्कृष्ट दश जोड दुई विद्यालय हुँदाहुँदैं जाने वा नजानेर भक्तपुर बाहिर पढ्न गइरहेको भन्दै दुःखेसो पोख्नुभयो । “एक चोटी विद्यार्थीहरु भक्तपुरको दश जोड दुई कक्षा पढाई हुने विद्यालय र कलेजमा प्रवेश गरेर यहाँको कक्षा कोठा हेरोस, भौतिक पूर्वाधार र अन्य खेल मैदानदेखी लिएर अन्य अतिरिक्त क्रियाकलापहरु बुझोस, शिक्षक कर्मचारीकहरुको योग्यता र क्षमताको बारेमा बुझोस । यहाँको पढाईको नतिजाको बारेमा बुझोस । सबैभन्दा ठूलो विद्यार्थीहरुको आनीबानी र संस्कारहरुको बारेमा बुझोस । यति कुरा बुझ्ने हो भने यहाँका विद्यालयहरु काठमाण्डौं र ललितपुरका नाम चलेका र ठूला भनिएका विद्यालय भन्दा कयौं गुणा उत्कृष्ट विद्यालय भक्तपुरमा छन,” उहाँले भन्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *