मध्यपुर थिमिलाई शिक्षा, व्यवसायिक र पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिन्छ – सांसद थापा

भक्तपुर, असार १६
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिलाई तीन क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले शनिवार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयमा आयोजना गरिएको एक दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाको उद्घाटन गर्दै सांसद थापाले मध्यपुर थिमिलाई शिक्षा, व्यवसायिक र पर्यटन गरी तीन क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको हो ।
“मध्यपुर थिमिलाई विशेषगरी तीन वटा क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सकिन्छ । एउटा शैक्षिक केन्द्र, दोस्रो व्यवसायिक केन्द्र र तेस्रो यहाँको धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षणगरी पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
उहाँले मध्यपुर थिमिलाई शिक्षा, व्यवसायिक र पर्यटन क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सके यहाँका नागरिक रोजगारीका लागि कुनै खाडी मुलुक या मलेसिया जानु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यपुर थिमिमा जुन सम्भावना छ, त्यसको विकास र बिस्तार गर्न सके यहाँका नागरिकलाई यही मलेसिया, दक्षिण कोरिया र अरबका देश बन्न सक्छ ।”


मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरिएको रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्धता पुरा गर्न रोजगार मेला आयोजना गरिएको बताउनुभयो । उहाँले मेलाको माध्यमबाट स्थानीयलाई रोजगारी दिने, रोजगारीको खोजीमा रहेका युवा र रोजगार दातालाई प्रत्यक्ष भेट गराउने र युवा विद्यार्थीलाई उनीहरुको वृत्ति विकासका लागि परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अन्य मेलाको तुलनामा यो रोजगार मेला नौलो र प्रकारको रहेको चर्चा गर्दै मेलाको यसपटकको अनुभव र सिकाईलाई ग्रहण गरी आगामी दिनमा पनि यस्तो मेला आयोजना गरिने बताउनुभयो ।
बिहानदेखी परेको वर्षाका बाबजुद मेलामा उल्लेख्य सहभागिता रहेको थियो । मेलामा भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर चेम्वर्स अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा, प्याव्सन भक्तपुर जिल्ला, प्याव्सन मध्यपुर थिमि नगर, मध्यपुर पर्यटन विकास समिति, मध्यपुर उद्योग वाणिज्य संघ, जिल्ला सहकारी संघ मध्यपुर समन्वय समिति, स्थानीय स्काउट मध्यपुर थिमि, आदर्श माध्यामिक विद्यालय सानोथिमिको सहकार्य रहेको थियो । साथै स्वीस सरकार विकास सहयोग एसडिसी, इन्स्योर परियोजना र हेल्भाटासको सहयोग रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *