थेरवाद बुद्धिष्ट एकेडेमीकाे पालि भाषाका आचार्यहरू स्नातकाेत्तर तह पहिलाे समूहद्वारा सम्मानित

सुनीता तुलाधर, ललितपुर, असार १० गते ।

थेरवाद बुद्धिष्ट एकेडेमीका पालि भाषाका १३ जना आचार्य (शिक्षकशिक्षिका)हरुलाई गुरु पुर्णिमाको उपलक्ष्य समेत पारी हिजाे एक समारोहका बीच ‘आचरियगुणो अनन्तो’ भन्दै ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ सहित सम्मान गरिएको छ । ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा उक्त एकेडेमीको ‘पालि बौद्ध अध्ययन’ मा स्नातकोत्तर तह पुरा गरेको पहिलो समूहका विद्यार्थीहरुले आयोजना गरेको ‘आचार्यहरुको सम्मानसहित कृतज्ञता ज्ञापन र पालिभाषा उत्थानको लागि छलफल’ कार्यक्रममा यसरी आफ्ना पालि भाषाका आचार्यहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा भिक्षु धर्मगुप्त महास्थविर, भिक्षु बोधिज्ञान महास्थविर, भिक्षु संकिच्च महास्थविर, भिक्षु निग्रोध महास्थविर, भिक्षु सिरि वजिर स्थविर, भिक्षु सरणंकर स्थविर, अनागरिका अग्गञाणी, अनागारिका विमलञाणी, अनागारिका मधुभाणिनी, आचरियो सुवर्ण लाल बज्राचार्य, आचरियो मदन रत्न मानन्धर, आचरियो महेन्द्र रत्न शाक्य, आचरियो त्रिरत्न मानन्धर हुनुहुन्छ ।

दसौं वर्षदेखी पालि भाषा सिकाइरहेकोको फल आज मात्रै पाएकोमा प्रमुदित हुनुहुँदै आचार्य भिक्षु धर्मगुप्त महास्थविरले पालि भाषा अध्ययन गरेर तिपिटकलाई आफ्नै मातृभाषामा अनुवाद गरी जनमानसमा पुर्याउन सक्यौं भने यही नै पालि अध्ययनको सफलता हुने आशीर्वचन दिनुभयो ।

त्यस्तै स्नातकोत्तर विद्यार्थीको तर्फबाट गुरु आचार्यलाई पालि भाषामै सम्मान व्यक्त गर्नुहुँदै अ. कुसलञाणी गुरुमाले बुद्धवचन संग्रहित भएको भाषा ‘पालिभाषा’ रक्षार्थ आचार्यहरुको प्रयत्न र ज्ञान अनुकरणीय रहेको बताउनुभयो । उहाँहरुको अनुग्रहले आफैले तिपिटकको सुत्त, जातक, धम्मपदट्ठकथा पढेर अर्थ समेत बुझ्न सकेकोमा कृतज्ञभाव प्रकट गर्नुभयो ।
नेपाल बौद्ध परियत्ति शिक्षा र थेरवाद बुद्धिष्ट एकेडेमीले पालिभाषाको अभिवृद्धिमा संरहानीय कार्य गरीरहेको छ । र यसमा सबैको एकताको बलले पालिभाषाको प्रचार सँगसँगै बुद्धशासन अझ सुदृढ हुँदै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा पालि भाषामै गुरु आचार्य र गुरुमाका साथै उपस्थित सबैलाई स्वागत गर्नुहुँदै अर्का पालि विद्यार्थी सुष्मा बज्राचार्यले पालिभाषाको अभिवृद्धिको लागि सक्दो प्रयास सँधै नै गर्ने प्रतिज्ञा गर्नुभयो ।

अर्का पालि भाषाका विद्यार्थी डा. रीना तुलाधरले १३ जना गुरु गुरुमाहरुले पालि कक्षा संचालनमा गर्नुभएको योगदानको स्मरण गर्दै कृतज्ञता ज्ञापन गर्नुभयो । थेरवाद बुद्धिष्ट एकेडेमीमा स्नातकोत्तर कक्षा संचालनका लागि प्रयास गर्नुभएका गुरुहरु तथा उक्त कक्षाका पहिलो समूहमा अध्यापन गर्नुभएका सबै गुरु तथा गुरुमाहरुले धेरै नै मेहेनत गरेर सिकाउनु भएकोमा पहिलो समूहका विद्यार्थीहरुका तर्फबाट कृतज्ञभाव उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा सबै गुरु आचार्य तथा गुरुमाहरुलाई पालि भाषामा नै लेखिएको ‘कतञ्ञुता पण्णं (कृतज्ञता पत्र)’ अर्पण गरिएको थियो ।
उक्त समारोहमा अ. ञाणवती गुरुमा, अ. चम्पावती गुरुमा, नरेन्द्र बहादुर तण्डुकार लगायतले बोल्नुभएको थियो भने आभा अवालेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *