‘गुणस्तरीय परियत्ति शिक्षाले असल नागरीक तयार पार्ने’ मूल उद्देश्य तयार पारी ‘नेपाल बौद्ध परियत्ति शिक्षाको ५ वर्षे रणनीतिक योजना तर्जुमा’ को एकदिने कार्यशाला गोष्ठी सम्पन्न

न्यूजअफ, काठमाण्डाै, जेठ १६ गते ।

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षा मूल समितिको आयोजनामा हिजाे एकदिने ‘नेपाल बौद्ध परियत्ति शिक्षाको ५ वर्षे रणनीतिक योजना तर्जुमा’ को कार्यशाला गोष्ठी हिजो विश्वशान्ति विहार, मीनभवन, काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौ महानगरपालिकाको सहयोगमा भएको उक्त कार्यशाला गोष्ठीले ‘गुणस्तरीय परियत्ति शिक्षाले असल नागरीक तयार पार्ने’ उद्देश्य तयार पारेको छ ।

उक्त कार्यक्रममा दीप प्रज्वलन गर्नुहुँदै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं नेपाल बौद्ध परियत्ति शिक्षाका शिक्षाध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान बुद्धको वचनको सहायताले जुनसुकै स्थानमा बोल्न परेपनि, कसैले प्रश्न गरेपनि शीर झुकाउन नपर्ने गरी बोल्न सकिन्छ । यही बुद्ध वचन समेटिएको परियत्ति पाठ्यक्रमको ५ वर्षे योजना बनाउँदा सबैलाई आकर्षित पार्ने र सबैलाई मान्य किसिमले बनाउन सके परियत्ति शिक्षा विकास भएर जाने बताउनुभयो । साथै उहाँले परियत्ति शिक्षाको पाठ्यक्रम सरकारी स्तरबाट पनि मान्यता प्राप्त हुनेगरी बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै ने.बौ.प.शि. मूल समितिका सचिव एवं ने.बौ.प.शि. पाठ्यक्रम एवं पाठ्यपुस्तक उपसमितिका संयोजक भिक्षु धर्मगुप्त महास्थविरले कार्यशाला गर्नुपर्ने उद्देश्यबारे प्रकाश पार्नुहुँदै परियत्ति शिक्षालाई कसरी द्रुतगतिमा अगाडि बढाउन के के कमीकमजोरीहरु छन, के के अभावहरु छन – त्यसलाई परिपूर्ति गर्नका लागि उक्त गोष्ठीको आयोजना गरिएका बताउनुभयो ।


गोष्ठीमा सहभागीहरुलाई ४ समूहमा विभाजन गरी छलफल गराई परियत्ति शिक्षामा ५ वर्षमा हासिल गर्नुपर्ने लक्ष्यहरु र उद्देश्यहरु बनाउन लगाइएको थियो । र तिनीहरु सबैको एकिकृत रुपमा ‘गुणस्तरीय परियत्ति शिक्षाले असल नागरीक तयार पार्ने’ मूल उद्देश्य तयार पारेको हो ।
यसको सूचकांकका रुपमा ३ वटा लक्ष्यहरु राखिएको छ –
१) ५ वर्षको अन्तमा परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुको संख्या ६००० जना पुर्याउने ।
२) सद्धम्म कोविद उपाधि हासिल गर्नेको संख्या ३०० जना पुर्याउने ।
३) विभिन्न जिल्लामा परियत्ति केन्द्रहरुको विस्तार संख्या १५० पुर्याउने ।

त्यसैगरी १. संस्थागत विकास, २. अनुसन्धान, ३. परीक्षा प्रणाली र ४. पाठयक्रम पाठयपुस्तक गरी ४ विधामा छलफल गराई ५ वर्षका लागि सबैको आ–आफ्नै उद्देश्य र लक्ष्यहरु तथा कार्यहरु निर्माण गर्न लगाइएको थियो । र त्यसमा सल्लाह र सुझाव समेत दिइएको थियो ।

सकारात्मक र रचनात्मक तरीकाले बौद्ध परियत्ति शिक्षालाई दीर्घकालिन योजना बनाउँदै जानुपर्नेमा अ.ने.भि.महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले जोड दिनुभयो ।
त्यस्तै ने.बौ.प.शि.का परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले कार्यशाला गोष्ठीबाट बनेका लक्ष्य र कार्यहरु तथा सल्लाहसुझावहरुलाई कार्यान्वयनमा पनि आउने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

कार्यशाला गोष्ठीलाई सबिता धाख्खाले सहजीकरण गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *