नेवाः समुदायले धुमधामले मनाउँदैं सिथी नखः

भक्तपुर, जेठ ११
जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका अवसरमा बिहिवार काठमाण्डौं उपत्यकासहित देशका विभिन्न भागमा बसोबास गर्ने नेवाः समूदायले धुमधामले सिथि नखः पर्व मनाउँदैं छन ।
भगवान कुमारको जन्म दिन समेत भएकाले यस दिन कुमारको पुजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात बारा खाई यो पर्व मनाईन्छ ।
नेवाःहरुको पर्वहरु कृषि र कृषि उत्पादनसँग जोडिएका हुन्छन । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाई पर्व मनाउने नेवारी समुदायको प्रचलन रहेको छ । यसै अनुसार अहिले घरघरमा नयाँ गहुँ भित्रिने बेला भएकाले सिथि नखःमा गहुँको म्हुछ्यामरी, मालपुवाका साथै चटामरी, पापडलगायतका पकवान खाएर सिथि नखः मनाईन्छ ।
नेवाः समूदायले सिथि नखःलाई पानीका मुहान तथा स्रोत सरसफाई गर्ने विशेष दिनको रुपमा समेत मनाईन्छ । सोही अनुसार सिथि नखःको दिन टोल बस्तीका सबै मिलेर संयुक्तरुपमा पोखरी, कुवा, ईनार, ढुंगेधारालगायतका पानीका मुहान तथा स्रोतहरु सरसफाई गर्ने गर्दछ ।
सिथि नखःमा वः लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ ।
सिथि नखःलाई नेवार समूदायले वर्षको अन्तिम पर्वको रुपमा समेत लिने गर्दछ । यस पर्वसँगै वर्षा शुरु हुने र किसानहरुको लागि वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाईं) शुरु हुने पर्वको रुपमा समेत यसलाई लिने गर्दछ ।
नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । “पहिलो सिथी नखाः अर्थात कुमार षष्ठी महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रापाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ ।” श्रेष्ठले भन्नुभयो ।
दोस्रो यसपर्व सँगै नेवार समुदायमा रोपाईं शुरु भएको सन्देश दिने भएकाले किसानहरु कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाँती राखेर किसानहरु अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफुलाई तयार पार्ने चाडको रुपमा रहेकाले पनि यसको विशेष महत्व राख्ने गरेको उहाँको कथन रहेको छ । खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडको रुपमा समेत यसलाई लिन सकिने श्रेष्ठ बताउनुहुन्छ ।
सिथी नखाःले परापुर्व कालदेखी पानीका मुहान सधैं सफा राख्नु पर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दुषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देश समेत दिने गरेको संस्कृतिकर्मी श्रेष्ठ बताउनुहुन्छ । त्यसैले नेवार समुदायमा सिथि नखःको दिन पानीको मुहान सफा गर्ने प्रचलन समेत रहेको छ ।
यस दिन किसानहरुले खेत बारीमा काम गर्दैनन । एका बिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछ । रोपाईका लागि खेतमा मल एक भारी भएपनि राख्न जानुपर्ने चलन अनुसार सिथि नखःको दिन किसानहरुले खेतमा मल पुर्याउने प्रचलन रहेको हो । त्यसपछि आफ्नो घर सफा गरि बारा लगायतका पकवान खाने चलन छ । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने जनश्रुती रहेको पाईन्छ ।
सिथि नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाईन्छ ।
सिथि नखःको वर्षको अन्तिम पर्व भएको र यस दिनदेखी सिन्या ज्याः (धान रापाईं) शुरु हुने भएकोले गथांमुगः नखःसम्म कुनै पनि प्रकारको परम्रागत बाजा बजाउन नहुने मान्यता समेत रहेको छ । त्यसैले सिथि नखःको दिनमा अन्तिम पटक परम्परागत बाजा बजाईन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *