बुद्धजयन्तीको विशेष समारोहमा कार्यक्रम संचालकले पञ्चशीलका शब्दहरु मनपरी ढंगले उच्चारण गरेको भन्दै दुःख प्रकट गर्दै पाल्पाका बौद्ध संस्थाहरुले ज्ञापनपत्र बुझाए

लुम्बिनी, जेठ ६ गते ।
गत बैशाख २९ गते बुद्ध जयन्तीका दिन भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको विशेष समारोहमा भिक्षु मैत्री महास्थविरले प्रदान गरीरहनुभएको पञ्चशील समेत कार्यक्रम संचालक एवं लुम्बिनी विकास कोषका प्रशासकिय अधिकृत ज्ञानिन राईबाट सही उच्चारण गर्न नसकेको मात्र नभई तथानाम, मनपरी शब्दहरु उच्चारण गरेको सन्दर्भमा पाल्पामा रहेका विभिन्न बौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा हिजो लुम्बिनी विकास कोषमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।
कोषका सदस्य सचिव सानुराजा शाक्य मार्फत बुझाइएको उक्त ज्ञापन पत्रमा “लुम्बिनी उद्यान जस्तो पवित्र भगवान बुद्धको जन्मस्थलमा बुद्ध जयन्तीको गरिमामाय धार्मिक समारोहमा भिक्षुगण, विभिन्न राष्ट्रका राजदूत तथा प्रतिनिधिहरुबीच भन्तेबाट प्रदान भइरहेको पालि भाषाको पञ्चशीलका शब्द, वाक्यहरुलाई शुद्ध तरीकाले श्रद्धापूर्वक हुबहु अर्थात जस्ताको तस्तै उच्चारण गर्नुपर्नेमा लुम्बिनी विकास कोष जस्तो महत्वपूर्ण सरकारी निकायका जिम्मेवार कर्मचारीबाट सामान्य पञ्चशीलको ज्ञान समेत नभएको जस्तो गरी विभिन्न श्रव्य दृष्य संचार माध्यमबाट, सामाजिक सञ्जालबाट विश्वभरी नै गलत सन्देश प्रवाह हुनेगरी तथानामका शब्दहरु उच्चारण गरेको सुन्नु पर्दा समस्त बौद्धमार्गीहरु लज्जास्पद र अत्यन्त गहिरो दुःख लागेको” उल्लेख छ ।
बोधार्थका रुपमा प्रधानमन्त्रीको कार्यालय, संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालय, अखिल नेपाल भिक्षु महासंघ एवं धर्मादय सभालाई पठाइएको छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा पाल्पाका ज्ञानमाला संघ, ज्ञानमाला सभा, धर्मोदय सभा, पाल्पा, चुडाकर्म (व्रतवन्ध) संघ, बौद्ध महिला आजीवन दायक समिति, बौद्ध महिला सेवा समिति, लुम्बिनी पाल्पा बौद्ध समन्वय समिति, बौद्ध युवा संघ, धर्मचक्र बौद्ध युवा संघ , करुणा बौद्ध संघ, युवक बौद्ध मण्डल, पारिलेयक वन संरक्षण समिति, भिक्षु विमलानन्द महास्थविर मेमोरियल ट्रष्ट, नेपाल परम्परागत बौद्ध धर्म संघ, नेपाल मगर संघौ सन्तोक बौद्ध गुम्बा, दीपज्योति बौद्ध विहार, नेपाल मगर बौद्ध सेवा समाज, गिनाव बुद्ध विहार, थेरवाद बौद्ध संघ पाल्पा रहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *