५ सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण शुरु

भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिका–४ मरुटोलस्थित ५ सय ६० वर्ष पुरानो ऐतिहासिक एवं धार्मिक महत्वको पद्मापाणी लोकेश्वर करुणामयको मन्दिर पुनर्निर्माण विधिवत रुपमा शुरु भएको छ ।
मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा उक्त मन्दिर पुनर्निर्माण हुन लागेको हो । नगरपालिकाले चालु आर्थिक वर्ष ५० लाख रुपैंया विनियोजन गरेको छ । मन्दिर पुनर्निर्माणका लागि न्हुछेराज बज्राचार्यको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । सोही उपभोक्ता समितिले पुनर्निर्माणको कार्य शुरु गरिएको हो ।
यसवर्ष विनियोजित ५० लाख रुपैंयाँबाट शिलान्यासदेखि जग हाल्ने कार्य गरिने छ । मन्दिरको पूर्ण पुनर्निर्माणका लागि कुल एक करोड ४० लाख रुपैंया लागत इष्टिमेट तयार भएको बताईएको छ ।


मन्दिरको पुनर्निर्माणको शुभारम्भ गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मौलिक पहिचानको रुपमा रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सम्पदाहरुको जिर्णोद्धार, मर्मत, संरक्षणदेखि पुनर्निर्माणको कार्यमा नगरपालिका सदैव क्रियाशील रहेको बताउनुभयो ।
लोकेश्वर करुणामय मन्दिरको छानाबाट पानी चुहिएपछि जिर्णोद्धारका लागि गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको थियो । जिर्णोद्धारका लागि नगरपालिकाको प्राविधिकहरुद्धारा सुक्ष्म अवलोकन र परिक्षणबाट लोकेश्वर मन्दिर जिर्ण भएको र पुनर्निर्माण गर्नु जरुरी भएको प्रतिवेदन दिएको थियो ।
सोही प्रतिवेदनको आधारमा दरवार हेरचाह अड्डा भक्तपुर र पुरातत्व विभाग काठमाण्डौंसँगको समन्वय र छलफल गरी करिब ५ सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिरको जगदेखि छानासम्म पुनर्निर्माणको कार्य शुरु गरिएको मध्यपुर थिमि नगरपालिकाका ईञ्जिनियर प्रेमलाल भासिमाले बताउनुभयो ।


पुनर्निर्माणको शिलान्यास कार्यक्रममा मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं.४ का कार्यवाहक वडाध्यक्ष मदन ख्या श्रेष्ठ, वडा सदस्य रामकेशरी श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुले मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक एवं मौलिक पहिचान बोकेको लोकेश्वर मन्दिर आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिने बताउनुभयो ।
काठमा कलात्मक बुट्टा राखेर झ्यालढोका निर्माण गर्नुपर्ने भएकोले पुनर्निर्माणमा समय लाग्ने मन्दिर पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष न्हुछेराज बज्राचार्यले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *