“५०० बृहत श्रामणेर प्रव्रज्या” का अल्पकालिन श्रामणेरहरु कार्यक्रम समाप्तीपछि गृहस्थी जीवनमा फर्के

न्यूजअफ, ललितपुर, ५ चैत ।
भगवान बुद्ध जन्मनुभएको लुम्बिनीको पवित्र उद्यानमा फागुन २० गते श्रामणेर भावमा प्रव्रजित भएका “५०० बृहत श्रामणेर प्रव्रज्या” मा प्रव्रजित नव श्रामणेरहरु चैत ४ र ५ गते विभिन्न स्थानमा भिक्षाटनपछि चीवर छोडेर गृहस्थी जीवनमा फर्केका छन् ।
अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष एवं प्रव्रज्या सामाजिक नेपालका अध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले ललितपुरको पुल्चोकस्थित अक्षयश्वर महाविहारमा आज आयोजित समापन समारोहका बीच श्रामणेर जीवनलाई छाडेर गृहस्थी हुन पाउँ भनी प्रार्थना गरेका अल्पकालिन नव श्रामणेरहरुलाई अनुमति दिनुहुँदै पञ्चशील प्रदान गर्नुभई गृहस्थी जीवन नै फर्काउनुभयो ।
उहाँले अल्पकालिन श्रामणेर बनेर जतिपनि सिकाइ तथा अनुभवहरु संगालेका छन्, ती अनुभवहरु आफ्ना मानसपटलमा पछिसम्म रहिरहनेछन् भन्नुभयो । प्रव्रज्यामा सहभागी हुँदा अकुशललाई त्यागी कुशल कर्म वृद्धि गरेकालाई सम्झी त्यसमा गर्व गरी सिकेका कुशल कार्यहरुलाई घर फर्किंदा आफूका साथै अरुलाई पनि सिकाउँदै जानुपर्नेमा उहाँले ओवाद दिनुभयो ।
सो अवसरमा थाई धर्मदूत भिक्षु थावरन थावरोले छोटो समयावधिमा पनि नेपाली धम्मदायादहरुले धेरै कुरा चाँडो सिकेकोमा प्रशंसा तथा साधु अनुमोदन गर्नुभयो ।
उक्त श्रामणेर प्रव्रज्यामा प्रव्रजित हुनुभएका अनिश शाक्यले दुर्लभ मानव जीवनमा दुर्लभ प्रव्रज्या प्राप्त गर्न पाएकोमा अति नै प्रमुदित भई जन्म दिनुहुने आमाबुबा प्रति एवं प्रव्रज्या दिनुहुने गुरुहरु प्रति कृतज्ञता प्रकट गर्नुभयो ।
अखिल नेपाल भिक्षु महासंघ एवं थाई धर्मदूत इण्डिया–नेपालको संयुक्त आयोजनामा फागुन १४ गते नाम दर्ता गरी नेक्खमी पारमीको अभ्यास गरी घरबार, आफन्तजन, साथीसंगी त्यागी नयाँ अनौठो र नौलो जीवनको शुरुवात गरेका नेपाली कुलपुत्रहरु तथा केही भारतीय कुलपुत्रहरु दश पारमिताको अभ्यास गर्दै चैत ५ गते २१ दिनको अल्पकालिन प्रव्रजित जीवन बिताई आ–आफ्ना घर फर्केका हुन् ।
पूर्ण जीवनकालमा प्रव्रजित हुन नसकेका वा नपाएकाहरु केही समयको लागि अल्पकालिन रुपमा भएपनि प्रव्रजित भई भगवान बुद्धले सिकाउनु भएको त्यागी जीवन बिताइ, उपेक्षा, मैत्री, करुणाको जीवनमा जिएर, भिक्षाटन वा दानबाट जीवन निर्वाह गरी भगवान बुद्धको शिक्षा शील, समाधि र प्रज्ञाको अभ्यास गरेका छन् । उनीहरुले आन्तरिक सौन्दर्य, मनको शान्ति प्राप्ती गर्ने मूलस्रोततर्फ कदम अघि बढाउने अभ्यास गर्न पाएका छन् ।
जसमा फागुन १४ गते ललितपुरको पुल्चोकस्थित अक्षयश्वर महाविहारमा नाम दर्ता, १५ गते अक्षयश्वर विहारकै प्राङ्गनमा केश छेदन, १६ गते नागबहालमा भिक्षु संघ र आमाबुबासँग क्षमायाचना एवं त्रिचीवर दानपछि नागबहालबाट मंगलबजारको पाटन दरबारहुँदै गाबहालबाट पुल्चोकपुगी लुम्बिनीतर्फ प्रस्थान, २० गते भगवान बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र उद्यानमा प्रव्रज्या । २२ गते लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान गृहमा भिक्षाटन । २४ गते शान्तिदीप नजिक नेपालको झण्डामुनि दीप प्रज्वलन । चैत २ गते  देवदह, बुटवल तथा भैरहवाको लुम्बिनी गेटमा धम्मयात्रा । चैत ४ र ५ गते विभिन्न स्थानमा भिक्षाटन गरेका छन् ।
प्रव्रज्या सामाजिक नेपालले व्यवस्थापन गरेको सो प्रव्रज्या कार्यक्रमको सहआयोजकहरु थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षयश्वर महाविहार, हिरण्यवर्ण महाविहार, धम्मसाकच्छा संघ, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध मण्डल नेपाल, बुद्ध समाज नेपाल, वल्र्ड एलियन्स अफ बुद्धिस्ट, लुम्बिनी विश्वविद्यालय, नागबहाल टोल सुधार समिति, धम्मकाय विश्वविद्यालय, धम्मकाय फाउण्डेसन र प्रोमिस ल्याण्ड रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *