३२ वर्षपछि थिमिको चपाच्वबाट थिमि भैलः प्याखँ प्रदर्शन

लक्ष्मी गारु, भक्तपुर, भदौ १७
मध्यपुर थिमि नगरपालिका–६ चपाच्व (चपाचो)मा ३२ वर्षपछि ऐतिहासिक एवम् धार्मिक महत्वको थिमि भैलः प्याखँ (थिमि भैरव नाच) प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलीपल्टको राती देखी चार रात प्रदर्शन हुने मल्लकालिन यो नाच यसवर्ष चपाच्वका प्रजापति समूदायको पहलमा प्रदर्शनमा आएको हो ।
भाद्र कृष्ण द्वितिया (गु“लागा द्वितिया) देखि पञ्चमीसम्म चार रात मध्यपुर थिमि नगरमा महाकाली, भैलः, निलबाराही गणनाचका साथै विभिन्न मौलिक प्याखँ प्रदर्शन गरिन्छ । यसै सन्दर्भमा यसवर्ष चपाच्वबाट थिमि भैलः प्याखँ प्रदर्शन गरिएको हो ।
भैलः प्याखँ चपाच्व द्यः छेंबाट प्रदर्शन गरिएको हो । त्यसपछि चपाच्व नासः द्यो, गार्चा गणेश, थामद्यः, गुंगचिभाः, कुतिचिभाः, हात्तिमहांकाल, दिगुटोल, ईनालाछि, लायकु, दत्तलय, मरुटोल, बालकुमारी, बालकुमारी भैलः द्य, दिगुटोल भैलःद्य, कुम्हाननी, तुलंननी, नासननी, चपाच्व, जलांननी र अन्तिममा पुनः चपाच्व द्योछेंमा प्रदर्शन गरेर पहिलो रातको नाच सम्पन्न गरिएको थिमि भैलः चपाच्व २०८० व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतिले बताउनुभयो ।
थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ । भने एक जना प्याखँको कजीको रुपमा रहन्छन ।
थिमि भैलःमा यसवर्ष सरगत प्रजापति ज्यापुंग, श्यामसुन्दर प्रजापति न्हापाँ भैल, साजन प्रजापति लिपाँ भैल, निरोज प्रजापति न्हापाँ दाँगी र नयन प्रजापति लिपाँ दाँगीको रुपमा रहेका छन भने आशाकाजी प्रजापति कजीको रुपमा रहनुभएको समितिका अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो ।
थिमि भैलः प्याखँ यसवर्ष ७ जना गुरुहरुले नाच सिकाउनुभएको हो । समितिका अनुसार सन्तकुमार प्रजापति, तेजकुमार प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, मोहनकृष्ण प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापति गुरुको रुपमा रहनुभएको छ ।
त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिव ३ दर्जनको संख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिव ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको अध्यक्ष प्रजापतिले बताउनुभयो ।
मध्यपुर थिमिमा थिमि भैलः र लाय्कु भैलः गरी दुई वटा भैलः प्याखँ प्रचलनमा रहेको छ । पुस्तौं पहिलेदेखी तान्त्रिक विधि अनुसार सञ्चालनमा आएको भैलः प्याखँ शुरु शुरुमा थिमिको लायकु (दरवार)बाट लायकु भैलःको रुपमा प्रदर्शन गरिन्थ्यो । पछि आएर लाय्कुबाट बाहेक पनि स्थानीय जनता विशेषगरी प्रजापति समूदायबाट लाय्कुसँगको समन्वयमा भैलः प्याखँ प्रदर्शन गरिन थालेको इतिहास पाईन्छ ।
तत्कालिन अवस्थामा लाय्कु भैलः प्रदर्शनमा आउने भएपछि प्रजापति वा अन्य समूदायबाट भैल प्याखँ निकाल्न नपाईने र अन्य समूदाय वा प्रजापति समूदायले थिमि भैलः प्याखँ ननिकालेको अवस्थामा लाय्कुबाट अनिवार्यरुपमा लाय्कु भैलः प्याखँ प्रदर्शन गर्नुपर्ने परम्परा रहेको समितिका सचिव श्यामसुन्दर प्रजापतिले बताउनुभयो । सोही अनुसार अहिले पनि लाय्कु भैल सञ्चालकहरुसँगको समन्वयमा थिमिमा भैल प्याखँ निकालिएको हो ।
यो प्याखँमा ज्यापुंगःलाई हरिसिद्धिको प्रतिकको रुपमा लिइन्छ । भैलः प्याखँमा अरु कलाकारहरुसँग मुकुण्डो हुन्छ तर ज्यापुंगः विना मुकुण्डो नाचिन्छ । यो प्याखँमा ज्यापुंगः हुनेको उमेर कम हुन्छ । भैल र दाँगी क्रोधित हुने बेला शान्त पार्न ज्यापुंगःले देवगणलाई कपासको बिया“ले हान्ने गर्दछ ।
थिमि भैलःको न्हापाँ भैलःलाई दिगु टोलको चण्डी भैल पनि भनिन्छ । चण्डी भैलः अथवा प्रचण्ड भैरव अष्ट भैरवको आठ रुपमध्ये एक रुपको रुपमा लिइन्छ । यो भैलको दाया“ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउ“दै बाजाको तालमा नाच्ने गर्दछ । नाचमा यो न्हापाँ भैलः ज्यापुंगः पछिको दोस्रो क्रममा बस्ने गर्दछ ।
लिपाँ भैलः यो प्याखँमा न्हापाँ भैलको पछाडी बस्ने गर्दछ । लिपाँ भैलःलाइ क्व“चा भैल पनि भनिन्छ । यो भैलः बालकुमारीको भैलः द्यो हो । यसलाई बटुक भैरवको प्रतिकको रुपमा पनि लिइन्छ । यो भैलःको दाया“ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउ“दै बाजाको तालमा नाच्ने गर्दछ ।
भैलः प्याखँको न्हापाँ दागीँलाई बालकुमारीको प्रतिकको रुपमा लिइन्छ । बालकुमारी चण्डी भैलःको शक्ति देवी हो । नाचको क्रममा न्हापा दागी“ लिपाँ भैलःको पछाडि बस्ने गर्दछ । न्हापा दागी“को दा“या हातमा डमरु हुने गर्दछ । बाजाको तालमा डमरु बजाउ“दैं नाच्ने गर्दछ ।
लिपाँ दागीँ महालक्ष्मीको प्रतिकको रुपमा लिइन्छ । नाचको क्रममा लिपाँ दागीँ न्हापा दागी“को पछाडि बस्ने गर्दछ ।
भैलः प्याखँ सम्बन्धी किंवदन्ती अनुसार तत्कालिन समयमा थिमि क्षेत्रका जनताहरुलाई भूत प्रेतले अत्याधिक दुःख दिइरहेको थियो । रातको समयमा मात्र नभई दिनको समयमा पनि दुःख दिन थालेपछि किसानहरु खेतीपाती गर्न जान पनि डराउन थाल्यो । त्यसपछि देशमा हाहाकार मच्चियो । जनताहरु दरबारको राजालाई गुहार्न गयो र राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसंग छलफल गर्दा मानिसहरुमा तान्त्रिक रुपमा भैरव नाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेतहरु टिक्न नसक्ने सल्लाह दिए । सोही आधारमा थिमिमा भैलः प्याख“ सञ्चालनमा आएको विश्वास रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *