२५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा शुरु

भक्तपुर, माघ १३
नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आइतवारबाट हेटौंडामा शुरु भएको छ ।
हेटौंडास्थित होटल सामनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो चरणको खेलवाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष् फूँयालले समान महत्वपूर्ण १ अंक जोड्न सफल भएका छन् ।
प्रतियोगितामा नेपाल च्याम्पियन झापाका राजन सुवेदीले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन पराजित गर्दै विजयी शुरुवात गरे । प्रतियोगितामा सिएम शुश्रुत दहालले पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग हार ब्यहोरे । क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो ¥र्याली खेलमा निराश पारे ।
अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई कठिन खेलमा हराउन सफल भए । अनुभवी खेलाडी प्रेमकृष्णले धिरेन विरुद्ध सटिक चाल चाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भएका थिए ।
पूर्व नेपाल च्याम्पियन एवं सिनियर खेलाडी सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रुपमा पराजित गरेका छन् । यस्तै दोलखाका युवा खेलाडी आशिष् फूँयालले एफएम रिजेन्द्र राजभण्डारी विरुद्ध उत्कृष्ट खेल पस्केर पिस अप हुदै जितको स्वाद चाखे ।
महिलातर्फ ईशा गिरी, एञ्जल महर्जन, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शुशिला गुरुङ र बिनिता कपालीले एक एक अंक जोडेर प्रतियोगितामा राम्रो शुरुआत गरेका छन् ।
प्रतियोगितामा उदीयमान खेलाडी ईशा गिरिले झापाका पुनम प्रसाईं र एञ्जल महर्जनले ओलम्पियाड शान्ति धिमाल, सिन्दिरा जोशीले निहाना श्रेष्ठ, झापाका कृतिसारा अधिकारीले नयुमा मगर, ताप्लेजुङका शुशिला गुरुङले चितवनका लक्ष्मी कँडेल र बिनिता कपालीले दानिशा पुरीलाई पराजित गरे ।
महासंघले केही वर्ष यता राष्ट्रिय च्याम्पियनसिपमा नेशनल सिनियर च्याम्पियनका शिर्ष तिन जना खेलाडी र नेशनल बी वाट शिर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
जस अनुसार महिला र पुरुष दुबै विधाका समान १२ जना खेलाडी बीच एक अर्का सँग ११ चरणको प्रतिस्पर्धा मार्फत राष्ट्रिय बिजेता घोषणा हुने छ ।
प्रतियोगिताका संयोजक महासंघका महासचिव धरम बहादुर लामाले प्रतियोगिता सञ्चालन गर्न २५ लाख खर्च हुने र सो खर्च बागमती प्रदेश खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, हेटौंडा उपनगरपालिका लगायतका निकायबाट सहयोग हुने बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *