हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर पुनःनिर्माण शुरु

भक्तपुर, पौष २०
भक्तपुरको हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर पुनःनिर्माण शुरु भएको छ । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत उक्त मन्दिर पुनःनिर्माण शुरु गरेको हो ।
मन्दिर पुनःनिर्माणका लागि बुधवार शिलान्यास गर्दै नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुरका साँस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताउनुभयो । उहाँले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणमा नगरपालिका प्राथमिकताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
“हनुमानघाट परिसर यहाँका जनताको आस्थाको केन्द्रको रुपमा रहेको महत्वपूर्ण धार्मिक स्थल हो,” उहाँले भन्नुभयो, “यस ठाउँको सुधारको लागि नियमित सरसफाइ, मठ मन्दिर पुनःनिर्माण, पुल निर्माण, सुधारिएको शवदाहगृह निर्माणलगायतका कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।”
भक्तपुर धार्मिक पर्यटनको रुपमा विकास गर्ने धेरै सम्भावनाहरु रहेको ठाउँ भएको बताउँदैं प्रमुख प्रजापतिले नगरपालिकाले धार्मिक स्थल व्यवस्थापनमा पनि विशेष पहल गर्दै आएको र सम्पदा पुनःनिर्माणमा उपभोक्ता समितिलाई नै जोड दिँदै आएको बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर धेरै मठमन्दिरहरु भएको ठाउँ भएको र जीर्ण अवस्थामा रहेका सम्पदाहरुको पुनःनिर्माण क्रम जारी रहेको बताउँदैं मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट आर्थिक र भौतिक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका सदस्य जीवनराज राजोपाध्यायले हनुमाघाटको इतिहास र महत्वबारे प्रष्ट पार्दै लामो समयदेखि जीर्ण अवस्थामा रहेको लोकेश्वर महादेव पुनःनिर्माण हुनु सुखद पक्ष रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडा सदस्य हेरा ख्याजू र उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम दुवालले पनि मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *