स्पेनलाई बराबरीमा रोक्दै जर्मनी एक अंक बटुल्न सफल

भक्तपुर, मंसिर १२
कतारमा जारी फिफा विश्वकप २०२२ मा आइतवार राती सम्पन्न खेलमा जर्मनीले स्पेनलाई बराबरीमा रोक्दै महत्वपूर्ण एक अंक बटुल्नुका साथै दोस्रो चरण प्रवेशको आशा कायम राखेको छ ।
अल बेयत रंगशालामा सम्पन्न खेलको दोस्रो हापमा स्पेनले अग्रता लिएपनि जर्मनीले ८३ औं मिनेटमा गोल फर्काउँदैं खेलमा फर्केको हो । दुवै टोलीका लागि वैकल्पिक खेलाडीले गोल गरेका थिए ।
खेलको ६२ औं मिनेटमा स्पेनका वैकल्पिक फरवार्ड अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले जोर्डी अल्बाको क्रसमा ६ यार्ड बक्सको अगाडिबाट गोल गरेका हुन । जर्मन गोलरक्षक नोएर र डिफेन्डर निकलास सुलको बिचमा पसेर मोराटाले फिनिस गरेका थिए ।


खेलको ८३ औं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । स्पेनले आफ्नै हाफमा बल गुमाएपछि काउन्टरमा जर्मनीका लागि निकलास फुलक्रुगले जाल मुसियालाले नियन्त्रणमा लिएको बलमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट शक्तिशाली प्रहार गर्दै बराबरी गोल गरे ।
खेलमा स्पेन शुरुवाती अग्रता लिनबाट चुकेको थियो । बल पोसेसन राख्दै अगाडि बढेको स्पेनको छैटौं मिनेटमा अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । ड्यानी ओल्मोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले छेक्दापनि क्रसबारमा लागेर बाहिरियो ।
खेलको ४० औं मिनेटमा जर्मनीले गोल गरेपनि त्यसले मान्यता पाएन । एनेटोनियो रुडिगरले फ्रिकिकमा हेडरमार्फत गोल गरेपनि उनी अफसाइड रहेको भिएआर (भार)मा देखिएको थियो ।
यस समूहमा अब चारै टोलीको अघि बढ्ने सम्भावना रहेको छ । स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको ३–३ अंक तथा जर्मनी एक अंकसहित पुछारमा छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *