सूर्यविनायक नगरपालिका–५ का वडाअध्यक्ष र सदस्यका उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिए

भक्तपुर, बैशाख २९
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका दुई जनालाई गएराती स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन । सूर्यविनायक नगरपालिकाको वडा नं. ५ मा नेकपा एमालेकातर्फबाट वडाअध्यक्षका उम्मेदवार राजकुमार जोशी र सदस्यका उम्मेदवार मनोज थापालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन ।
निर्वाचन आचार संहिता अनुसार मौन अवधी लागू भएको अवस्थामा मतदातालाई प्रभावित पार्न आएकोले जोशी र थापालाई गएराती नियन्त्रणमा लिएको स्थानीयले बताए । उनीहरुलाई कटुञ्जेको त्वायना टोल र मिजार टोलबाट नियन्त्रणमा लिइएको थियो । उनीहरु मतदातालाई प्रभावित बनाउनका लागि आर्थिक चलखेलको उद्देश्यसहित आएको स्थानीयले आरोप लगाएका छन ।
“राती १२ बजेको समयमा निजी भ्यानसहित एमालेका उम्मेदवार आएका थिए, उनीहरु हामीकहाँ आएका थिए, हामीले मौन अवधिमा किन आएको भनी सोध्यौं, उहाँहरुले त्यत्तिकै आएको भने, अनि हामीले नियन्त्रणमा लियौं,’ कुटुञ्जेका एक स्थानीयले भने । स्थानीयले जोशी र थापासहित उनीहरु सवार बा ९ च ५३ ७५ नम्बरको निजी भ्यानसहित नियन्त्रणमा लिएका थिए ।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले स्थानीयले जोशी र थापालाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कटुञ्जेमा बुझाएको र राती नै दुई पक्षलाई राखेर छलफल गराई आज पुनः छलफलमा बस्ने गरी छाडिएको जानकारी दिनुभयो । उहाँले थप छलफलपछि घटनाको बारेमा बिस्तृत जानकारी सार्वजनिक हुने बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *