सिथि नखः पर्व मनाउँदैं नेवार समुदाय

लक्ष्मी गारु, भक्तपुर, जेठ १८
जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात नेवार समूदायले वर्षभरीको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व आज मनाउँदैंछन ।
सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाईं) शुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइन्छ ।
भगवान कुमारको जन्म दिन समेत भएकाले यस दिन नेवार समूदाय कुमारको पुजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी –(भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको छ ।
सिथि नखःको दिन नेवार समूदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन । वर्षातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दुषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरी समेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।
सिथि नखःको दिन किसानहरुले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एका बिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछ । त्यसपछि आफ्नो घर सफा गरि सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने धार्मिक मान्यता रहेको छ ।

नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन । पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रुपमा लिइन्छ । गणेश देवताहरुका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । देवी देवताहरु मध्ये सबैभन्दा पहिला पुजा गरिने कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रोपाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको प्रा. डा. श्रेष्ठ बताउँछन ।
नेवार समूदाय कला सँस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन । तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन । नेवारीमा प्रचलित एउटा भनाई, “मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः” अर्थात “मान्छे मरे घुमले छोपेर भएपनि पहिला धान रोपाईं सक्नुपर्छ” भन्ने मान्यताले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवसरमा किसानहरुलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा. डा. श्रेष्ठको कथन रहेको छ ।
धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौंठेजोरी खेल्दै गरिने धान रोपाईंलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समूदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको छ । साथै नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटीहरु खाने चलन समेत रहेको छ ।
यस दिन बारा, चटामरी, म्हुछ्यामढी लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । साथै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास समेत रहेको पाईन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *