सञ्चारकर्मीलाई नियमानुसार सुविधा दिन समितिको ध्यानाकर्षण

भक्तपुर, साउन ११
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीहरुलाई ऐन नियम अनुसार सेवा सुविधा नदिए त्यस्ता सञ्चार प्रतिष्ठानलाई राज्यले प्रदान गर्ने सेवा सुविधा कटौती गर्न सिफारिश गरिने चेतावनी दिएको छ ।
समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदैं त्यसो नगर्ने÷नगराउने सञ्चार प्रतिष्ठानलाई राज्यले प्रदान गर्ने सेवा सुविधा कटौती गर्न सिफारिश गरिने चेतावनी दिएको हो ।
समितिका अध्यक्ष संगिता खड्काले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै प्रचलित कानुनी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो । विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरीत बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको हो ।
सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुविधाको विषय तथा श्रमजीवी पक्ष र सञ्चालक पक्षका अधिकार र कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उनले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा नै श्रम अधिकार हननसम्बन्धी यस्ता उजुरी र गुनासो आउनु दुःखद भएको विज्ञप्तीमा उल्लेख छ ।
पछिल्ला दिनमा विभिन्न सञ्चार प्रतिष्ठानले कानुनी व्यवस्थाविपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधा बिना नै करार सम्झौता भङ्ग गर्ने, निष्काशन गर्ने, सरुवा गर्नेलगायत विषयमा गुनासो र उजुरी प्राप्त भएको समितिले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *