संविधानको भावना र मर्म विपरित संविधान संशोधन हुँदैन–का.वा.प्रधानमन्त्री सिंह

भक्तपुर, असोज ९
कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्म विपरित संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको बुधवार उद्घाटन गर्दै उहाँले आफैंले ल्याएको संविधानको मर्म र भावना विपरित कांग्रेस र एमाले नजाने स्पष्ट पार्नुभएको हो ।
“हामीले प्रजातन्त्रको लागि धेरै लामो संघर्ष गरेका छौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नै अहिलेको व्यवस्था ल्याएको र संविधान पनि निर्माण गरेको हो,” उहाँले भन्नुभयो, “त्यसैले अहिलेको लोकतान्त्रिक संविधानको भावना र मर्म विपरित कांग्रेस एमाले जान सक्दैन ।”
उहाँले देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउँदै त्यसैका लागि कांग्रेस एमाले मिलेर सरकार निर्माण गरेको बताउनुभयो । “गत निर्वाचनको परिणामले नौ÷नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छायो, जनताले निराश अभिव्यक्ति दिन थाले । नेपाल केही हुन्न भन्ने भाष्य निर्माण गर्न खाजे । त्यसैले राजनीतिक स्थितिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन कांग्रेस र एमालेको सरकार बनेको हो,” उहाँले भन्नुभयो ।


उहाँले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दावी गर्नुभयो । उहाँले संसदमा लामो समय अडकिएको कानुनहरु पास हुन थालेको बताउँदैं बिस्तारै अर्थतन्त्र सुधारोन्मुख भएकोले लगानी बढाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले महोत्सव भइरहेको सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको जग्गा धेरैले धेरै प्रयोजनको लागि प्रस्ताव गरेको बताउँदैं यसमा स्थानीय राजनैतिक दल, स्थानीय सरकार, सरोकारवाला, नागरिक समाज सबै पक्षको छलफलबाट मात्रै यसको निर्णय हुन सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीजि क्षेत्रलाई पनि अनुसन्धान गर्न सकिने गरी भ्रष्टाचार निवारण सम्बन्धी विधेयक आउनुले नीजि क्षेत्रलाई त्रसित बनाएको बताउनुभयो ।
अन्तराष्ट्रिय चेम्बर्स अफ कमर्श नेपालका उपाध्यक्ष राजेन्द्र मल्लले देशको अर्थतन्त्रको बाह्य सूचांकका सकारात्मक भएपनि मुलुकभित्र आर्थिक गतिविधि सुस्त हुँदा लगानीको वातावरण बन्न नसकेको बताउनुभयो ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, सन्तोष परियार, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका प्रमुख उपअनुसन्धान निर्देशक टेकराज तिमिल्सिना, सशस्त्र प्रहरी बल २२ नं. गण गुह्येश्वरी दुवाकोटका सशस्त्र प्रहरी उपरिक्षक बासुदेव लोहनी, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिलगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठले जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकिय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरुको प्रवद्र्धन एवम् बजारीकरणमा विशेष टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरेको बताउनुभयो ।
असोज १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलगअलग स्टल व्यवस्था गरिएको छ । दशैको मुखमा आयोजना भएको महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै विशेष छुटको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गार्मेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी एक सय ६० स्टलहरु रहेको महोत्सव व्यवस्थापक सगुन इभेन्ट म्यानेज्मेन्ट प्रा.लि.का अध्यक्ष संगम लामाले बताउनुभयो ।
महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ ।
महोत्सव अवधिभर करिब दुई लाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० करोड रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरुले समेत लाभ लिने विश्वास गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *