संघीयतालाई सुदृढ बनाउन भाषा विधेयक ल्याएका हौं–मूख्यमन्त्री जम्मकट्टेल

भक्तपुर, कार्तिक ३
बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयतालाई सुदृढ बनाउन र संघीयताको मूल मर्मलाई व्यवहारमा लागु गर्न नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन विधेयक पारित गरेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर समितिले शुक्रवार थिमिमा आयोजित सम्मान, शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा मूख्यमन्त्री जम्मकट्टेलले संविधानले नेपाल बहुभाषिक मुलुक भएको स्विकार गरेको अवस्थामा संविधानलाई कार्यान्वयन गरी संघीयतालाई थप बलियो बनाउन नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउन ऐन पारित गरेको बताउनुभएको हो ।


“अन्तराष्ट्रिय स्तरमा नै नेपालको पहिचान भनेको बहुजाती, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभुगोल भएको मुलुक हो । संविधानले पनि यो स्विकार गरेको छ । संविधानलाई कार्यान्वयन गरी संघीयतालाई बलियो बनाउन प्रदेश सरकारले यो ऐन ल्याएको हो,” उहाँले भन्नुभयो ।
संविधानले स्विकार गर्दा पनि कतिपय कुराहरु कार्यान्वयन हुन बाँकी रहेको बताउँदैं उहाँले ऐन कार्यान्वयनका लागि नियमावली र कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिनुभयो । “ऐन पारित भएको छ । अब नियमावली बनाउनुपर्छ , केही कार्यविधि बनाउनपर्छ र स्थानीय तहसँग समन्वय गरेर कार्यान्वयनमा लैजानुपर्छ,” उहाँले भन्नुभयो ।
१० वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलनको फलस्वरुप संविधानसभाबाट संविधान निर्माण गर्न सफल भएको र यो संविधानले हाम्रो वास्तविक पहिचान स्विकार गरेको बताउँदैं ढिलै भएपनि राम्रो काम भएको भनेर सबैले प्रशंसा गरेको चर्चा गर्नुभयो ।


उहाँले भाषा आयोगले २०७६ मा नै सिफारिस गरेपनि अघिल्लो प्रदेश सभामा विधेयक बनाउन नसक्दा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाष बनाउन नसकिएको बताउनुभयो ।
“कुनै बेला नेपाल भाषाको पक्षमा बोल्दा र लेख्दा समेत जेल जानु पर्ने अवस्थाबाट राजनीतिक परिवर्तनसँगै विभिन्न जाती र वर्गले गरेको आन्दोलनको उपलब्धीको रुपमा अहिले स्थानीय स्तरमा बोलिने भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन सफल भएका छौं,” उहाँले भन्नुभयो ।


बागमती प्रदेशको नामाकरणमा केही असन्टुष्टी रहेको बताउँदैं यसको नाम नेवाः ताम्सिालिङ हुनुपर्नेमा आफुले अघिल्लो प्रदेश सभामा अन्तिमसम्म अडान लिएको स्पष्ट पार्नुभयो । “भूगोल र भूगोल अनुसार जाती र वर्गको बाहुल्यता रहेको नेपालमा सोही अनुसार पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न सकिएको भए यसले संघीयतालाई बलियो बनाउँछ । बहुसंख्यक जनताको भावनाको प्रतिनिधित्व गर्छ, त्यो भित्र हामी सबै अटाउन सक्छौं तर त्यो सम्भव भएन,” उहाँले भन्नुभयो ।
नेपाल बहुभाषिक, बहुजातिय र बहुसाँस्कृतिक मुलुक भएकाले संविधान अनुसार स्वायत्त इलाका र स्वशासित स्थानहरु बनाउनुपर्ने बताउनुभयो । “जुन स्थानमा जुन समूदायको बाहुल्य छ, संविधानले अधिकार दिएको छ । नेपाल भाषा र तामाङ भाषाको निर्णयले आधार निर्माण गरेको छ । अब स्वायत्त इलाका र स्वशासित स्थानहरु बनाउँदैं जानुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले बागमती प्रदेशको राजधानी समेत अपायक भएको बताउँदैं यसलाई सबैको पायक पर्नेगरी बनाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा पुर्व भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने, शिक्षा, स्वास्थ्यलाई मौलिक हकको रुपमा संविधानमा लेख्ने र महिलाका अधिकारलाई मौलिक हकको रुपमा स्थापित गर्ने नेतृत्व नेकपा माओवादी केन्द्रले लिएको बताउनुभयो ।
उहाँले भ्रष्टाचारकै कारण मुलुक अहिलेको अवस्थामा पुगेको बताउँदैं चाहे त्यो नीतिगत भ्रष्टाचार होस, चाहे त्यो संस्थागत होस या व्यक्तिगत, यो अवस्थाबाट मुलुकलाई मुक्ति दिलाउन र मुलुकमा सुशासन र सदाचारिता निर्माणका लागि पहल गर्ने दल नेकपा माओवादी केन्द्र भएको दावी गर्नुभयो ।


नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरिदास प्रजापतिले निर्वाचनमा जसरी गठबन्धन गरेर जनता समक्ष गएका थियौं, यो पाँचवर्षे कार्यकाललाई सोही अनुसार केन्द्रदेखी स्थानीय तहसम्म सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्र मध्यपुर थिमि अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै लगानी बृद्धि गरी सबै जनतालाई सहज र सरलरुपमा शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।


कार्यक्रममा गत असोजमा सम्पन्न येंया पुन्ही म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर, करिव ४० किलोको अर्धचन्द्रकार भ्ये (महादिप) काँधमा बोकेर पैदल पशुपतिनाथको दर्शन गरी फर्केर इतिहास निर्माण गरेका बालकराम नानीचा श्रेष्ठ, महाकाली प्याखँ, थिमि गुँला बाजा खलः गुर्णकिर्ति महाविहार, थिमि भैलः प्याखँ चपाचो, लाय्कु भैल गुरु अर्जुन श्रेष्ठ र निरन्जन श्रेष्ठ, २५ वर्षपछि थिमिमा लाखे प्याखँ प्रदर्शन गर्ने कपाली समाज, नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलः पुखुःसी नगदेश, मानन्धर युवा समूह (याँमता थाथुसा चोडे) शिवा सायमी खलः (गुँला बाजा शिवाटोल), नीलबाराही देवगण नाचका कोटा गुरु बाबुकाजी भिँदुवा श्रेष्ठ (मरोरान्त), ताहानानी बासुरी खलः, पञ्चरंगी भजन खलः, डा. रामकृष्ण चन्द्यो श्रेष्ठ, समाजसेवी तथा राजनीतिकर्मी कृष्णलाल गोजा श्रेष्ठ, पुर्वमन्त्री शशी श्रेष्ठ र बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सम्मान गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *