व्यवसायीलाई जु जु धौको माग धान्ने चटारो, साविक भन्दा चार गुणा माग

लक्ष्मी गारु, भक्तपुर, असार १५
मानो रोपेर मुरी फलाउन रोपाईंमा मस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभुती हुने बेला हो असार । यही असारको मध्य दिन अर्थात असार १५ रोपाईं गर्दै हर्षोल्लासका साथ खुसी साटासाट गरी दही चिउरा खाएर रोपाईं महोत्सव मनाउने दिन पनि हो ।
सरकारले राष्ट्रिय धान दिवसको रुपमा समेत मनाउन थालेपछि असार १५ को महत्वले अझ बढी व्यापकता पाएको छ । धानबाली नेपालको प्रमुख बाली हो । धानलाई मात्र अन्न मान्ने परम्परा समेत रहेको नेपालमा रोपाईंलाई एउटा पर्वकै रुपमा लिने गर्दछ । त्यसैले रोपाईंमा बाजागाजासहित गित गाउने रोपाईं सकेपछि भोज गर्ने प्रचलन समेत रहेको छ ।
गाउँका मुखिया, काजी र ठूलाबडाले रोपाईंलाई ठूलो पर्वको रुपमा मनाउने नेपाली समाजमा अन्य साना किसानहरुले समेत रोपाईंलाई पर्वको रुपमा मनाउन असार १५ मा दही चिउरा खाने परम्पराको विकास भएको संस्कृतिकर्मीहरुको भनाई रहेको छ । त्यसैले असार १५ मा दहीको माग अत्याधिक हुने गर्दछ ।


असार १५ को यही मागलाई धान्न भक्तपुरका दही व्यवसायीलाई अहिले चटारो परेको छ । भक्तपुर दहीको उपत्यका मात्र नभएर मुलुक बाहिर समेत प्रख्यात छ । यहाँ उत्पादन हुने मौलिक र परम्परागत जुजु धौ को स्वाद र गुणस्तरका कारण यो अत्याधिक लोकप्रिय रहेको छ । एक पटक यसको स्वाद चाखेको व्यक्तिले हत्तपत्त अन्य दही खान मन नपराउने भएकाले यसको माग उच्च छ ।
असार १५ कै लागि साविकको तुलनामा चार गुणा बढी जु जु धौ उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन । भक्तपुर नगरपालिका–२ व्यासीस्थित आर एस जुजु धौ सप्लार्यसका रिना सुवालले असार १५ को लागि कम्तीमा पनि ७ हजार लिटरको दही उत्पादन गरेको बताउनुभयो । उहाँले अन्य दिन बढीमा २ हजार लिटर दुधको जुजु धौ उत्पादन गर्दै आउनुभएको बताउनुभयो ।
भक्तपुर नगरपालिका–३ बंशगोपाल श्री बाराही जुजु धौ भण्डारका व्यवसायी राधेश्याम कर्माचार्यले असार १५ का लागि तीन दिन अघिदेखी जु जु धौ तयारी गरिरहेको बताउनुभयो ।
असार १५ का लागि एक साता अघिदेखी जु जु धौको अर्डर आउने गरेको बताउँदैं एक साता अघिदेखी दुध संकलन र आवश्यक भाँडाको जोहो गर्ने चटारो पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार जु जु धौ को लागि कम्तिमा ५÷६ प्रतिशत फ्याट भएको दुध आवश्यक हुन्छ तर बजारमा त्यति गुणस्तरको दुध पाउन मुस्किल हुने गर्दछ ।


भक्तपुरमा जुजु धौ व्यवसायी करिव डेढ सयको हाराहारीमा छन । ती व्यवसायीले औसतमा दैनिक २५÷३० हजार लिटर दुधको जुजु धौ उत्पादन गर्दै आइरहेको छ । असार १५ मा जुजु धौ को माग उच्च हुने गरेकोले कम्तीमा एक लाख लिटर दुध आवइश पर्ने भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजुले बताउनुभयो ।
जुजु धौ व्यवसायीले पहिले पहिले भक्तपुरका ग्रामिण भेग र आसपासका काठ क्षेत्रबाट दुध संकलन गरी दही उत्पादन गर्दै आएका थिए । पछिल्लो सयम बढ्दो शहरीकरणले भैंसी पालन व्यवसाय लोप हुँदै गएपछि जुजु धौ व्यवसायीहरुले अहिले धुलिखेल, कुशादेवी, चितवन, नारायणघाट, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दुध संकलन गरी ल्याउने गरेको सैंजुले जानकारी दिनुभयो ।
जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउन भन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दुधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं कराईमा उमाल्नुु पर्दछ । दुध उमाल्दा एक क्यान बराबर ४ केजी चिनी हालेर नडढने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दुध राख्नु पर्दछ । उक्त दुध सेलाएर ४० डिग्रि तापक्रममा पुगेपछि बाँकी आधा भागमा दुध भरी हालेर धौ पुसा (दहीको बिऊ÷जोरन) राखिन्छ । त्यसपछि दही जमाएको कटारामाथि अर्को कटाराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्दछ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फ्रिजमा राखिन्छ ।
परम्परागत शैलीमा दही उत्पादन गरे माग धान्न निकै गाह्रो भएकोले छिटो जमाउनका लागि व्यवसायीहरुले पछिल्लो समय आधुनिक प्रविधि अँगाल्न थालेका छन । पहिला जस्तै दाउरा नभएर ग्यासमा दुध उमालेर बट्टा वा कटरामा राखेपछि ४० डिग्रि तापक्रम भएको बेला हट एण्ड कोल्डमा राखेर दही जमाउने गरिएको आर एस जुजु धौ सप्लार्यसका रिना सुवालले बताउनुभयो ।
जुजु धौंको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याएपनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषता भएको जुजु धौ दही मात्र नभई भक्तपुरको पहिचान बनिसकेको छ । भक्तपुरको दहीले मल्लकालिन समयदेखी जुजु धौं अर्थात राजा दहीको उपमा पाएको संस्कृतिविदहरु बताउँछन । जुजु धौंको स्वाद र गुणस्तर नेपालमा मात्र होईन विदेशमा समेत प्रख्यात छ । त्यसैले भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होईन विदेशी पर्यटकले समेत जुजु धौ को स्वाद लिएर मात्र फर्कने गर्दछन ।
जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात कटारो हो । असार १५ मा दही चिउरा खाने परम्परा राष्ट्रिय पर्वको रुपमा विकास भैसकेको छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार असार १५ मा दहि चिउरा खाने चलन लिपिवद्ध गरेको इतिहास नभएको बताउनुभयो । उहाँले असारमा माना रोपेर मुरी फलाउने महिना भएकाले यस महिनाको आधासम्ममा रोपाई सकिएको सन्देश मुलुकभर फैलाउन दही चिउरा खाने पर्वको रुपमा विकास भएको बताउनुभयो । अर्को कुरा शरिरको पुरै बल यो रोपाईको समयमा खर्चिने हुँदा त्यसको परिपुर्तीको लागि पनि दही चिउरा खाने परम्परा थालेको बताउनुभयो ।

 

 

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *