विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

भक्तपुर, जेठ २५
कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले खेलको २३ औं मिनेटमा पेनाल्टी मार्फत र दोस्रो हापको शुरुमा गोल गरे भने खेलको ६८ औं मिनेटमा याजान अलअरबले गोल गरेका थिए ।


जोर्डनसँग पराजित भएसँगै नेपाल एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा सिधै प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ । नेपालले अब शुक्रवार हुने खेलमा अष्ट्रेलियालाई पराजित गर्न सके मात्र एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा सिधै प्रवेश गर्ने सम्भावना रहन्छ, त्यसका लागि अन्य समूहका खेलको नतिजा पनि अनुकुल हुनुपर्छ ।
जोर्डन जितसँगै समूहको दोस्रो स्थानमा उक्लेको छ । जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ ।
पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो । जोर्डनको एकपछि अर्को आक्रमणमा गोलरक्षक किरण बाधक बनेका छन ।


खेलको १४ औं मिनेटमा जोर्डनका मोहमद सुलेमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई किरणले आफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । २१ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्रभित्र बल गुमाएपनि डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्र आएको लो क्रसलाई क्लियर गर्दै खतरा टारे ।
खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाए । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए । बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । गोलरक्षक किरणले सहि दिशामा डाइभ दिएपनि सेफको शक्तिशाली प्रहार रोक्न भने सकेनन् ।
खेलको २९ औं मिनेटमा डिफेन्डर विकास खवास घाइते हुँदै बाहिर जानु परेपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अन्जन विष्टले भेट्न नसक्दा नेपालले बराबरी गर्ने अवसर गुमाएको थियो ।


खेलको ४२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पर्ने अवसर गुमायो । किरण चेम्जोङले पहिलो प्रहार बचाएपछि जोर्डनका खेलाडीले रिबाउन्डमा गरेको दोहोरो प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयमा सुलेमानले तीन डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरिएको थियो ।
दोस्रो हाफको शुरुवातमै जोर्डनले आफ्नो अग्रता दोब्बर पा¥यो । खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै टप कर्नरमा गोल भएको थियो ।
नेपालले खेलको ५८ औं मिनेटमा तीन खेलाडी परिवर्तन गरेको थियो । नवयुग श्रेष्ठ, एरिक विष्ट र विशाल राईलाई पुजन उपरकोटी, सन्तोष तामाङ र दीनेश राजवंशीको स्थानमा मैदानमा प्रवेश गराएका थिए । त्यसपछि नेपालको खेलमा केही सुधार देखिएको थियो । तर ५८ औं मिनेटमा मनिष र नवयुगले पेनाल्टी क्षेत्र बाहिर बल नियन्त्रण गर्न नसक्दा नेपालले कुनै खतरा सिर्जना गर्न सकेन ।


६८ औं मिनेटमा जोर्डनले ३–० को अग्रता लियो । छोटो फ्रिकिकमा जोर्डनले उत्कृष्ट मुभ बनाउँदै गोल गरेको थियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए ।

८६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै विशाल राईले लामो दुरीबाट गरेको प्रहार पनि बाहिरियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *