विपीको ३९ औं स्मृती दिवसमा माल्यापर्ण र वृक्षारोपण

भक्तपुर, साउन ६
जननायक विश्वेश्वर प्रसाद (विपी) कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरले पार्टी कार्यालयमा विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले विपीले अंगिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
भर्खरै नेपालको राजनीतिले कोर्ष परिवर्तन गरेको उल्लेख गर्दै थापाले बदलिँदो परिस्थितीमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अस्मिताको रक्षा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको बताउनुभयो ।


उहाँले गएको निर्वाचनमा स्थायित्व र विकास दिन्छु भनी जनतासँग मत मागेर झण्डै दुई तिहाई बहुमत हासिल गरेका कम्युनिष्टहरुको घर झगडाले लथालिंग अवस्थामा पुगेको नेपालको राजनीति र जबरजस्ती भत्काउन खोजिएको संविधानलाई सही ट्रयाकमा हिँडाउने नेतृत्व कांग्रेसले लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कांग्रेसको रहर भन्दा पनि परिस्थितीजन्य उपज हो । कम्युनिष्टले जनादेश बमोजिम काम गर्न सकेन ।’
उहाँले कोभिड–१९ को महामारीबाट जनताको जनधनको रक्षा गर्ने प्रमुख प्राथमिकता सरकारको हुनुपर्नेमा जोड दिँदैं भन्नुभयो, पहिला जनता अनि विकासको मान्यता लिएर सरकार हिँड्नु पर्छ । कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।


उहाँले आसन्न पार्टीको १४ औं महाधिवेशनको सन्दर्भमा जिल्लामा सौहार्दपूर्ण र स्वच्छ प्रतिष्पर्धा गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । जिल्लाको नेतृत्वको दौडमा रहेका सबै नेताहरुलाई मैदान खुल्ला भएको र सबैले आ–आफ्नो समूह बनाई नेतृत्वको प्रतिष्पर्धामा आउन छुट भएको चर्चा गर्दै सभापति थापाले आन्तरिक प्रतिष्पर्धामा जो कोही अघिपछि भएपनि आउँदो स्थानीय र संघ प्रदेशको निर्वाचनमा पार्टी एक भएर अघि बढ्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक एवम् पार्टी उपसभापति हरिप्रसाद नेपाल र भक्तपुर क्षेत्र नं. १ का कांग्रेस सभापति जीवन खत्रीले विपीको समाजवादी चिन्तनलाई सबैले अंगिकार गर्न सके सबै नेपाली सुखी र खुसी हुने बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुरेन्द्र के सी, बागमति प्रदेशसभा सदस्यद्धय कृष्णलाल भँडेल र रजनी जोन्छें, पुर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर, महेश श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *