लिपुलेक प्रकरणबारे कांग्रेसको धारणा सार्वजनिक

भक्तपुर, माघ १
नेपाली कांग्रेसले लिपुलेक र लिम्पियाधुरामा भारतीय पक्षले सडक निर्माण गरिरहेको भन्ने विषयमा गम्भिर आपत्ति प्रकट गर्दै अविलम्ब त्यस्ता गतिविधि रोक्न माग गरेको छ । कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै कांग्रेसले नेपाली भूमीमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक रहेको जनाएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको जनाउँदैं विज्ञप्तीमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको उल्लेख गरिएको छ ।
‘नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहो¥याउन चाहन्छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको र नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।’
कांग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने उल्लेख गर्दै कांग्रेसले नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट रहेको जनाएको छ ।
‘दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’
कांग्रेसले दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको जनाउँदैं सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्नेमा कांग्रेसले प्रष्ट पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *