लम्पी स्किन पिडितलाई राहत दिन बागमती प्रदेश सदस्य श्रेष्ठ र नगर प्रमुख खत्रीको माग

भक्तपुर, असार ३०
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत दिनुपर्ने माग गर्नुभएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाभित्र ८० प्रतिशत र समग्र भक्तपुरका ७५ प्रतिशत गाईमा लम्पी स्किन संक्रमण देखिएको भन्दै श्रेष्ठ र खत्रीले बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ समक्ष किसानलाई राहत दिनुपर्ने माग राख्नुभएको हो ।
साना किसानको रोजी रोटीको रूपमा रहेको गाई पालन पेशा नै धरापमा परेको भन्दै पिडित किसानलाई राहत प्याकेज ल्याउनु पर्ने उहाँहरुले माग गर्नुभएको हो ।
“एउटा गाई खरिद गर्न एक लाख भन्दा बढी पर्छ । साना किसानले दुई चार वटा पालेका गाई बाछा भटाभट लम्पी स्किन सङ्क्रमणबाट मर्न थालेपछि साना किसानको उठीबास नै हुन लागेको छ,” श्रेष्ठले भन्नुभयो । किसानलाई प्याकेजको रूपमा राहत दिन मन्त्रालय लागी पर्नुपर्ने उहाँको माग थियो ।


भूगोलको हिसाबले भक्तपुर जिल्लाको ५७ प्रतिशत हिस्सा ओगटेको चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत गाईमा लम्पी स्किन सङ्क्रमण फैलिएको चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले मन्त्रीलाई जानकारी दिनुभयो ।
उहाँले हाल सम्म चाँगुनारायणमा मात्र हजार भन्दा बढी गाईको मृत्यु भई सकेको जानकारी दिँदैं टोल टोलमा गाई व्यवस्थापन गर्न समस्या नै आई सकेको बताउनुभयो । गाई फार्म सञ्चालन गर्नेहरूको अझ ठुलो बिजोग भएको मेयर खत्रीले बताउनुभयो ।
नगरपालिकाले रोग नियन्त्रणका लागि प्रचार प्रसार देखि खोप कार्यक्रमका लागि नगरबाट १० लाख रकम विनियोजन गरी रोग नियन्त्रण तथा खोप कार्यक्रम गर्दै आएको समेत प्रमुख खत्रीले जानकारी दिनुभयो ।
खोप जनचेतना दिँदा दिँदै पनि यो रोगका कारण नगरका अधिकांश किसान पेशाबाट नै विस्थापित हुने अवस्थामा पुगेका कारण उनीहरूलाई राहत स्वरूप प्रदेश सरकारले केही प्याकेजका रूपमा प्रदान गर्नुपर्ने उहाँले पनि माग राख्नुभयो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा राजेन्द्रमान श्रेष्ठले रोगको विषयमा आफूलाई जानकारी भएको तर यस्तो भयावह अवस्थामा भक्तपुर पुगेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले राहत स्वरूप के गर्न सक्छ आफूले क्याबिनेटमा राखेर राहत प्याकेज ल्याउन लागी पर्ने समेत जानकारी दिनुभयो ।
उहाँले रोग रोकथामका लागि चाँगुनारायणमा प्रदेशले १ हजार ५ सय डोज खोप पठाएको र थप चाहिएमा खोप तथा प्राविधिक सेवा दिन आफूहरू २४ घण्टा नै सक्रिय रहेको बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *