रोजगार मेलाबाट एक सय भन्दा बढीले रोजगारी पाउने

भक्तपुर, असार १३
मध्यपुर थिमि नगरपालिकाले यही असार १६ गते आयोजना गर्ने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा एक सय भन्दा बढीले रोजगार पाउने भएको छ । मध्यपुर थिमि २ सानोथिमिस्थित आदर्श माविको प्रांगणमा हुने मेलामा विभिन्न व्यवसाय, उद्योग र कम्पनीहरुले मेला स्थलमा नै एक सय भन्दा धेरैलाई रोजगारी दिने भएको हो ।
मेलाको बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नीजि विद्यालयहरुको संगठन प्याव्सन भक्तपुरले मात्र ४० जना भन्दा बढीलाई रोजगार दिने ग्यारेन्टी गरिसकेको जानकारी दिँदैं यो बढ्ने क्रममा रहेकोले मेलाको दिनसम्म एक भन्दा बढी रोजगारी ग्यारेन्टी हुने बताउनुभयो ।
उहाँले मेलामा रोजगारीको पहिलो प्राथमिकता मध्यपुर थिमिका बासिन्दालाई हुने भएपनि रोजगारीको खोजीमा रहेका योग्यता पुगेका नेपाली नागरिक अवसर पाउने बताउनुभयो । मेलामा रोजगारीका साथै वृत्ति मार्ग निर्देशन सम्बन्धी परामर्श सेवा, विभिन्न तालिम प्रदायक निकायले सिपमूलक र स्वरोजगारमूलक तालिमको जानकारी समेत दिईने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


यसका साथै मेलाको अन्य आकर्षणहरुमा रोजगारको खोजीमा रहेकाहरुलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिइने र स्थानीय उत्पादनहरुको प्रदर्शनी रहेका छन ।
मेलाबाट युवाहरुलाई थप आफ्नो करिअरको बढवा, रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुनुका साथै प्राविधिक तथा व्यवसायिक संघ संस्थाहरुमा वर्तमान प्रविधिहरु सहितको सीप तथा शिक्षण प्रणाली विकासमा नीति तथा कार्यक्रम तयार गर्न सहयोग हुने अपेक्षा गरिएको मेला आयोजक समितिका संयोजक एवम् नगर प्रवक्ता समेत रहनुभएका वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो ।
मेलाले रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै तथा श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै नागरिकहरुमा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने उद्देश्य समेत मेलाको रहेको उहाँले बताउनुभयो ।


मेलामा विभिन्न उद्योग व्यवसायहरुबाट १६ वटा, मध्यपुर थिमि नगरपालिकाबाट ३ वटा, प्राविधिक शिक्षालयहरुबाट ९ वटा, स्थानिय उत्पादन (मध्यपुर माक्स मेकिङ्क र हस्तकला) बाट २ वटा, होटल व्यवसायी २ वटा, अस्पताल २ वटा, बैङ्क तथा वित्तिय संस्था १ वटा, वल्र्डलिङ्क १ वटा, ईन्स्योर परियोजना १ वटा गरी कुल ३७ वटा स्टलहरु रहनेछन् ।
मेलामा ३ हजार देखि ३ हजार ५ सय जनाले सहभागिता रहने अनुमान गरिएको छ मेलाबाट कम्तीमा एक हजार ५ सय युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसँग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउने अपेक्षा गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *