रेडक्रसलाई राजनीति गर्ने थलो बनाउन हुँदैन – सांसद थापा

भक्तपुर, फागुन ७
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले रेडक्रसलाई राजनीति गर्ने थलो बनाउन नहुनेमा जोड दिनुभएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको २८ औं जिल्ला सभालाई आइतवार सम्बोधन गर्दै सांसद थापाले रेडक्रस मानवीय सेवा दिने संस्था भएकाले यहाँ राजनीति गर्न नहुने बताउनुभएको हो ।
पछिल्ला केही वर्ष यता रेडक्रसलाई राजनीति गर्ने थलो बनाएकोमा चिन्ता व्यक्त गर्दै सांसद थापाले रेडक्रसलाई मानव सेवाको थलो मात्र बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “हाल सबै संघ संस्था राजनीतिको जालोले बिग्रेको छ यो जालोलाई चिर्दै रेडक्रस राजनीति मुक्त बनाउनु पर्छ । यसलाई विशुद्ध मानव सेवामा केन्द्रीत गर्नुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले रेडक्रस भन्ने वित्तिकै रगत र राहतको लागि परिचित रहेको बताउँदैं पछिल्लो समयमा यहाँको नेतृत्व हत्याउन देखिएको विवादलाई कानुन बनाएर समाधान गर्नुपर्ने र त्यसका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले रेडक्रसलाई स्वायत्त र समाजको अग्रणी संस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बागमती प्रदेशका १३ वटै जिल्लामा जनतालाई निःशुल्क रगत उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रेडक्रस र स्थानीय निकाय सँगसँगै रहनुपर्ने भन्दै नगर वासीको सेवाका लागि निःशुल्क रगत उवलव्धतामा आफूहरूले पहल कदमी चालेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोज कुमार थापाले रगतबाट भक्तपुरको चिनारी भएको बताउनुभयो । जिल्लाबाट सञ्चालन भएको रक्त सञ्चार केन्द्रबाट दिइएको सेवाका कारण देश भर रगत नपाए भक्तपुर जानु भन्ने नाराबाट परिचित भएको बताउनुभयो । “हिजो न्याय नपाए गोर्खा जानु शिक्षा नपाए काँसी जानु भने जस्तै देश भर रगत नपाए भक्तपुर जानु भन्ने उक्ति सार्थक भएको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, काठमाडौँ शाखाका सभापति श्याम काजी डोटेल, सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा, शाखाका पूर्व सभापति केपी अवाल, जिल्ला उपसभापति कृष्णेश्वरी हाडा लगायतका वक्ताले भक्तपुर रेडक्रसले गरेका विविध क्रियाकलापको चर्चा गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *