राष्ट्रिय बुद्धिचालमा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै, पुरुषतर्फ रुपेशको अग्रता

भक्तपुर, माघ १६
नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फको प्रतिष्पर्धा रोचक बन्दै गएको छ भने पुरुषतर्फ रुपेश जैसवालको अग्रता कायम रहेको छ ।
हेटौंडास्थित होटल सामनामा जारी प्रतियोगिताको महिलातर्फ काठमाण्डौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थानमा रहेकी छिन । छैटौं चरणको समाप्तिमा साबिक विजेता सिन्दिरालाई कडा टक्कर प्रस्तुत गरेकी १३ वर्षीय एञ्जलले समान ५ अंकमा रहँदै प्रतिष्पर्धालाई रोचक बनाएको हो ।
सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाएकी छिन् भने एञ्जलले ताप्लेजुङकी शुशिला गुरुङलाई हराउदै स्कोर बराबरी गर्न सफल भइन ।
प्रतिस्पर्धामा साढे ४ अंक बनाउदै संयुक्त दोश्रो स्थान ओगट्न सफल बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालले शीर्ष खेलाडीलाई पछ्याइरहेका छन । झापाकी पुनम प्रसाईं र काठमाण्डौंकी बिनिता कपाली समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहेका छन् । छैटौं चरणको खेलमा विनितालाई हराएर पुनमले महत्वपूर्ण अंक जोडेका हुन् ।


पुरुषतर्फ एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोडेर आफ्नो अग्रता कायम राखेका छन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएका हुन् ।
दोश्रो स्थानको लागि कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूँयाल र काठमाण्डौंका पुरुषोत्तम सिलवाल समान ४ अंक बनाएर रुपेशलाई पछ्याइ रहेका छन् ।
अन्य चार जना खेलाडीले साढे ३ अंक जोडेर तेस्रो स्थानलाई साझा बनाएका छने । जसमा झापाका सिएम शुश्रुत दहाल, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौंका प्रेमकृष्ण महर्जन रहेका छन् ।
प्रतियोगिता संयोजक महासंघका महासचिव धरम बहादुर लामाले राष्ट्रिय विजेतालाई काजकिस्तानमा हुने ४६औं ओलम्पियाड, श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्य अफिसियल खेलमा महासंघले सहभागीता गराउने निर्णय गरेको जानकारी दिए ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको कूल २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *