राष्ट्रिय बिमा बोर्डसँग ख्वप अस्पतालको २० करोड बाँकी

भक्तपुर, भाद्र २०
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले राष्ट्रिय बिमा बोर्डसँग २० करोड रुपैंया भन्दा बढी सोधभर्ना लिन बाँकी रहेको छ । बिमा बोर्डले भुक्तानी नदिँदा अस्पताल सञ्चालनमा कठिनाई भएको भन्दै नगरप्रमुख सुनिल प्रजापतिले बिहिवार बोर्डका अध्यक्ष गुणराज लोहनीसँग भेट गरी सो जानकारी गराएको हो ।
भेटमा नगरप्रमुख प्रजापतिले स्वास्थ्य बिमाको रकम समयमै भुक्तानी नहुँदा ख्वप अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या भएको प्रष्ट पार्नुभयो । उहाँले स्वास्थ्य बिमा रकम छिटो सोधभर्ना गर्न ध्यानाकर्षण समेत गर्नुभयो ।
ख्वप अस्पतालले जनतालाई सस्तो र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको बताउँदै उहाँले ख्वप अस्पतालले दैनिक ८०० जनाको हाराहारीमा बिरामीलाई स्वास्थ्य सेवा प्रदान गदै आइरहेको जानकारी दिनुभयो ।
सोही क्रममा बोर्डका अध्यक्ष लोहनीले समयमै स्वास्थ्य बिमाको रकम भुक्तानी नहुँदा स्वास्थ्य बिमामा आबद्ध सरकारी अस्पतालको सेवा प्रवाह प्रभावित भएको स्वीकार्दै स्वास्थ्य बिमाको रकम छिटो भन्दा छिटो भुक्तानी दिने आश्वासन दिनुभयो ।
उहाँले ख्वप अस्पताललाई स्वास्थ्य बिमाअन्तर्गत सोधभर्ना हुन बाँकी रकममध्ये कम्तीमा ५० प्रतिशत रकम एक महिनाभित्र भुक्तानी दिने प्रतिबद्धता जनाउनुभयो ।
भेटकै क्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बिमा बोर्डसँग पैसा नभएकै कारण अस्पतालहरुलाई स्वास्थ्य बिमाको रकम भुक्तानी दिन नसकेको प्रष्ट पार्नुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग रु. ८ अर्ब ७५ करोड माग गरेको बताउँदै अस्पतालहरुलाई सक्दो चाँडो स्वास्थ्य बिमाको रकम सोधभर्ना गरिने विषय अवगत गराउनुभयो ।
सो अवसरमा ख्वप अस्पताल व्यवस्थापन समितिका सदस्य एवम् भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ललगायतका प्रतिनिधिमण्डल बिमा बोर्ड पुग्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *