राजनीतिमा इमान भए एमाले सांसदहरुले पद त्याग गर्नुपर्छ – माओवादी नेता पुन

भक्तपुर, भाद्र ६
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सांसदलाई प्रतिनिधि सभामा बस्न र बोल्न लाज हुनुपर्ने बताउनुभएको छ । भक्तपुरमा शनिवार आयोजित वाईसीएल सूर्यविनायक नगर भेलालाई सम्बोधन गर्दै नेता पुनले दुई पटकसम्म आफैंले हत्या गरेको प्रतिनिधि सभामा निवर्तमान प्रधानमन्त्री ओली र उनका समर्थक सांसदलाई बोल्न र बस्न लाज हुनुपर्ने बताउनुभएको हो ।
‘संसद विघटन गरी आफैले आफूलाई मारेका एमाले सांसदले नयाँ निर्वाचनबाट निर्वाचित नहुँदा सम्म संसद सदस्य हुनु बेसर्मीको विषय हो । तुरुन्तै पद त्याग गर्न र तलव भत्ता नलिने घोषणा गरी राजनीतिक नैतिकता प्रदर्शन गर्न आग्रह गर्छु । आफैले हत्या गरेको संसदमा बोल्न लाज लाग्दैन ?’ उहाँले भन्नुभयो, ‘हामीले ब्युत्याएको संसदमा ठुल्ठुला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो ?’
उहाँले एमाले अध्यक्ष ओलीबाट नैतिकताको आश गर्नु बेकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज राजनीतिमा अनैतिकता मात्र भएको र इमान्दारीताको कुनै सानो अंश पनि नभएको प्रवृत्ती केपी ओली प्रवृत्तीको रुपमा देखा परेको छ ।’ उहाँले ओलीलाई ‘बा’ भन्दै उनको मूर्ती बोकेर हिड्नेहरु बिचार शुन्य र पराजित व्यीक्त भएको जिकिर गर्दै संसद पुनःस्थापना राजनीतिमा इमान्दारीता र बिचारको जित भएको बताउनुभयो ।
लोकतन्त्रमा जनतामाथि कोही शासक नहुने भन्दै नेता पुनले जनताको मालिक बन्न खोज्दा ओली प्रवृत्ती पराजित बनेको र यसलाई राजनीतिमा पाठको रुपमा सबैले ग्रहण गर्नुपर्ने स्पष्ट पार्नुभयो । सांसदहरु जनताका वारेश मात्र भएका भन्दै उनले त्यसलाई जे मन लाग्यो त्यही गर्न पाउने अर्थमा बुझ्नु नहुने बताउनुभयो ।
‘जनता सचेत छन्, जनप्रतिनिधि राजा, रानी बन्न खोजे त्यो दुई दिन पनि टिक्दैन,’ उहाँले भन्नुभयो । सामन्ती सोच, व्यक्तिवादी चिन्तन, दम्भ र घमण्डले ७ प्रदेशमा छ वटा प्रदेशमा आफ्नो सरकार र संघमा दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका ओली अहिले प्रमुख प्रतिपक्षी नेता समेत नरहने स्थितिमा आइपुगेको उहाँले बताउनुभयो ।
नेता पुनले परीवर्तन र अग्रगमनको नेतृत्व नेकपा(माओवादी केन्द्र) ले गरिरहेको जिकिर गर्दै पार्टीका नेता कार्यकर्ताहरु सधै आन्दोलनमै रहनुपर्ने आवश्यकता समेत औल्याउनुभयो । देशको मात्र नभई पार्टी भित्रका बिकृती विसंगती समेत हटाउनु पार्टीका इमान्दार नेताकार्यकर्ताको कर्तब्य भएको भन्दै उहाँले यसको अभिभारा युवाहरुले उठाउनुपर्नेमा जोड दिनुभयो ।
युवाको क्रान्तिकारी विचार र जोशले मात्र पार्टी, समाज र देश समृद्ध बन्ने बताउदै उहाँले युवाहरु राजनीतिमा अगाडि आउनुपर्ने प्रष्ट पार्नुभयो । देशैभर युवाहरुको आकर्षण माओवादी केन्द्रमा देखिएको दावी गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीले पहिलो स्थान प्राप्त गर्ने समेत घोषणा गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति ‘भिष्म’ले भक्तपुरमा पार्टीका अध्यक्ष नै युवा रहेको बताउदै पार्टीमा युवाहरुलाई उचित जिम्मेवारी दिइने प्रतिवद्धता प्रकट गर्नुभयो । उहाँले वाईसीएल भ्रष्टाचार र दुराचारको भण्डाफोर गर्नुपर्ने भन्दै समाजले भरोसा गर्ने शक्तिको रुपमा कार्य गर्न मार्गनिर्देश समेत गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सबै युवालाई वाईसीएल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘विचारले प्रशिक्षित नहुँदा युवाहरु मिसगाइड भएका हुनसक्छन । उनीहरुलाई सही बाटोमा ल्याउने काम वाईसीएलले गर्नुपर्छ, उहाँले भन्नुभयो ।
वाईसीएल शारीरिक मात्र नभई वैचारिक तालिम युक्त भएकोले आफूहरु अरु पार्टीका युवा संगठन जस्तो उत्तेजित भै नहाल्ने जिकिर गर्दै सापकोटाले वाईसीएललाई नजिस्काउन चेतावनी समेत दिनुभयो । ‘हामी हतियार समाएर मात्र होइन, बनाएर र पड्काएर आएका हौँ, हामीलाई हेपेर कसैले समाजमा वा राजनीतिमा जे पनि गर्न सकिन्छ भन्ने सोचे त्यो सह्य हुदैन,’ उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका भक्तपुर जिल्ला अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी ओलीले ३ वर्ष शासन चलाउदा ४ खर्ब बेरुजु आएको महालेखाको प्रतिवेदन प्रति टिप्पणी गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले देशमा भ्रष्टाचारलाई बढावा दिएको बताउनुभयो । ओलीको कार्यकालमा एउटा पनि ठुला बिकासका आयोजना शुरु नभएको भन्दै उहाँले ओलीले गरेका विकास र सम्बृद्धिका कुरालाई बकम्फुसे गफको संज्ञा दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद प्रतिमा श्रेष्ठ, वाईसीएल नेताहरु कसम गुरुङ, दिनेश थपलिया आक्रोश, सविन आचार्य, नरेश वाइवा, नरेश रंजितलगायतले समेत सम्बोधन गरेका थिए । वाईसीएल सूर्यविनायक नगर अध्यक्ष सुरेन्द्र सुवालको अध्यक्षतामा संचालित कार्यक्रममा करिव एक सय युवा वाईसीएलमा प्रवेश गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *