राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदो–पूर्वअध्यक्ष श्रेष्ठ

भक्तपुर, पुस २७
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिप कुमार श्रेष्ठले राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदैं गएको बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य संघको ३६ औं साधारण सभा तथा अधिवेशन २०८० को शुक्रवार उद्घाटन गर्दै श्रेष्ठले राजनीतिले अर्थतन्त्रलाई प्राथमिकता नदिँदा नेपालले सुनको थालमा माग्दैृ हिँड्नु परेको टिप्पणी समेत गर्नुभयो ।
उहाँले संसारका मरुभूमिहरु हरियाली बन्न थालेको तर नेपाली युवाहरुको विदेश पलायनका कारण हरियाली नेपाल मरुभूमिमा परिणत हुँदै गएको बताउनुभयो । जलविद्युतको विकासबाट मात्र देश समृद्धि बनाउन सकिने धारणा राख्दै उहाँले कोभिडबाट थलिएको अर्थतन्त्र र विश्वव्यापी पर्यटन बजारमा परेको प्रभावहरुलाई हेरेर प्रतिस्पर्धी बजारमा आफूलाई बचाउन सकिने गरी उद्यमीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले संघको पदाधिकारी हुनेहरुले स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने र केही लिन्छु भन्ने भन्दा केही दिन्छु भन्ने भावना भएकाहरु संघमा हुनुपर्नेमा जोडदिँदैं सामुहिक प्रयास र टिम वर्कले मात्रै उद्देश्य हासिल गर्न सकिने धारणा राख्नुभयो । उद्यमीहरु आफूलाई बन्दकीमा राखेर देशलाई केही दिन २४ घण्टाको समयमा २५ घण्टा जुत्नु परेको बताउँदैं उहाँले आयातलाई विस्थापन गरी निर्यातमुखी अर्थतन्त्रको विकासमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पहिला थुन्ने त्यसपछि मात्रै सुन्ने सरकारको रबैयाले व्यवसायीहरु निरुत्साहित भएको भन्दै उदमीले आफ्नो व्यवसायिक धर्मलाई कायम राख्दै आफ्नो कर्म नछाड्न आग्रह गर्नुभयो । स्थानीय मौलिक सिपलाई पुस्तान्तरण होइन हस्तान्तरणको आवश्यकतामा जोड दिदै श्रेष्ठले व्यवसायीले धुक्क भएर लगानी गर्ने वातावरण बनाउन चेम्बर ल आवश्यक भएकोमा जोड दिनुभयो ।


नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले आर्थिक मन्दीले उद्योगको उत्पादन र बिक्रि पनि बढाउन नसकेकाले बैंकको व्याज र ऋण समेत तिर्न नसक्ने अवस्था आएको प्रति चिन्ता व्यक्त गर्नुभयो । व्यवसायीलाई कर माथि कर मात्र लगाउने र सरकारी सुविधा कटौती गर्ने व्यवहारमा सुधार्नुपर्नेमा जोडदिदै उहाँले उद्यम विकासकालागि विना धितोको ऋण र व्यवसाय विमाकालागि समेत सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सरकार र नीजि क्षेत्रको सहकार्यमा विभिन्न कार्य गर्दै आइरहेको चर्चा गर्दै संघले भक्तपुरको पर्यटन उद्योगको विकासमा थप कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले स्थानीय स्तरको उद्योगलाई थप प्रवद्र्धन र लगानी गरेर निर्यातमुखी उद्योगको रुपमा विकास गर्न संघले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले संघले भक्तपुरको हस्तकला, काष्ठकला र वास्तुकलाका सिप र यहाँको मौलिक उत्पादन जुजु धौ, कालो भादगाउँले टोपीको उद्योग देशका अन्य भागमा पनि बिस्तार गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो ।


आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख डिलिपकुमार गौतमले व्यवसायीहरुले जति आम्दानी र कारोवार गरेको छ त्यति मात्रै कर तिर्ने व्यवस्था भएकाले आर्थिक मन्दीले कर तिर्न असहज नहुने बताउनुभयो ।
संघका अध्यक्ष शिव प्रसाद मानन्धरको अध्यक्षतामा आयोजित सो साधारण सभामा आयात निर्यात व्यवासायमा उत्कृष्ट व्यवसायीहरुलाई सम्मानित गर्नुका साथै सहयोगी व्यक्ति व्यक्तित्व तथा संघ संस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा स्मारिका समेत विमोचन गरिएको थियो ।


कार्यक्रमका वरिष्ठ उपाध्यक्ष रोशनी धौबन्जा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, युवा व्यवसायी संघका अध्यक्ष विश्वराम कवां, संघका पूर्व अध्यक्ष केपी ताम्राकार, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेम खर्बुजा, नेपाल चेम्बर अफ कमर्श भक्तपुरका अध्यक्ष कविराज श्रेष्ठलगायतले व्यवसायीको हकहितका लागि व्यवसायीक संघ संस्थाहरुले सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच अधिवेशनले वरिष्ठ उपाध्यक्ष रोशनी धौवञ्जालाई संघको नयाँ अध्यक्षको रुपमा सर्वसम्मतरुपमा चयन गरेको छ । संघको इतिहासमा धौवञ्जा पहिलो महिला अध्यक्ष समेत बन्न सफल भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपानेलगायतका पदाधिकारीहरु सर्वसम्मतरुपमा चयन भएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *