युरोकप २०२० – रोमाञ्चकारी खेलमा विजयी हुँदै स्पेन सेमिफाइनलमा प्रवेश

भक्तपुर, असार १९
आत्मघाती गोल, रातो कार्ड र ट्राइब्रेकरको रोमाञ्चकारी तथा उथलपुथलकाबीच स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शनिवार राती सम्पन्न खेलमा आत्मघाती गोलले पछि परेको स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भए पनि स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो तर ट्राइब्रेकरमा स्पेनी गोलकिपर सिमोनले उत्कृष्ट प्रदर्शन गरेपछि ३–१ ले पराजित हुँदै क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भयो ।


खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
ट्राईब्रेकरमा पहिलो पेनाल्टी प्रहार गर्न आएका स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्कियो भने स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले कुनै गल्ती नगरी स्विट्जरल्यान्डलाई अग्रता दिलाए ।
स्पेनमा डानिल ओल्मोले गोल गर्दै खेल बराबरीमा ल्याए भने स्विटजरल्यान्डका फावियनको प्रहार स्पेनका सिमोनले बचाएर खेलमा बराबरी कायम राखे । इटालीका रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाएपछि स्पेन अग्रता लिनबाट चुक्यो भने अकान्जीको पेनाल्टी सिमोनले बचाउँदै खेलमा स्पेनलाई बराबरीमा राखे ।


चौंथो पेनाल्टी प्रहार गर्न आएका जेरार्ड मोरेनाले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए । रुबेन भेर्गासको प्रहार पोस्ट माथिबाट बाहिरिएपछि स्विट्जरल्यान्ड दवाबमा आयो । स्पेनका तर्फबाट अन्तिम पेनाल्टी प्रहार गर्न आएका मिकेल ओयार्जबलले गोल गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याए ।


खेलको ८ औं मिनेटमा स्पेनले आत्मघाती गोलबाट अग्रता लिएको थियो । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बललाई रोक्नेक्रममा स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गर्न पुगेका थिए । खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे । खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । खेलमा स्पेनले लगातार आक्रमण गरेपनि स्विस गोलकिपर सोमेरले उत्कृष्ट प्रदर्शन गर्दै विफल बनाएका थिए । अब स्पेनले सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *