युरोकप २०२० – इंग्ल्यान्ड जर्मनीलाई २–० ले हराउँदैं क्वाटरफाइनलमा प्रवेश

भक्तपुर, असार १५

इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलवार राती घरेलु मैदान वेम्बलीमा सम्पन्न खेलमा इंग्ल्यान्ड जर्मनीलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे । पहिलो हाप बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।

स्टर्लिङले मैदानको मध्यभागबाट तिब्र गतिमा बल अगाडि बढाउँदैं आफैंले बुनेको अवसरमा केन र ग्रिलिस हुँदै लुक शाको अन्तिम क्रसलाई गोलमा परिणत गरेका थिए । शाले बायाँ विंगबाट गरेको लो क्रसमा दुई डिफेन्डरसँगै गोलरक्षक नोएरलाई बिट गर्दै स्टर्लिङले गोल गरेका थिए ।

खेलको ८१ औं मिनेटमा जर्मनीले बराबरी गोल गर्ने सुवर्ण अवसर गुमाए । स्टर्लिङले दिएको निकै खराब ब्याक पासलाई हाभर्ट्जले नियन्त्रणमा लिँदै उपलब्ध गराएको बलमा थोमस मुलरले एक्लै अघि बढाउँदै वन भर्सेस वनको स्थितिमा गरेको अन्तिम प्रहार पोस्टभन्दा बाहिर जाँदा जर्मनी बराबरी गर्नबाट चुकेको थियो ।

खेलको ८६ औं मिनेटमा इंग्ल्यान्ड अग्रता दोब्बर पार्दै जित नजिक पुगे । शाले मिडफिल्डमा गनाब्रीबाट बल खोस्दै ग्रिलिसलाई पास दिए । ग्रिलिसको क्रसमा कप्तान केनले डाइभिङ हेड गर्दै बललाई जाली चुमाए र इंग्ल्यान्डलाई २–० को जित दिलाए । केनको जारी युरोमा यो पहिलो गोल हो ।

खेलमा दुवै टोलीले आक्रमक खेल पस्केको थियो । खेलको पहिलो हापमा दुवै टोलीले गोलका केही सुन्दर अवसर खेर फालेका थिए भने केही अवसरमा गोलकिपर बाधक बने । खेलको १६ औं मिनेटमा कप्तान म्यानुएल नोएरले सुन्दर बचाउ गर्दै इंग्ल्यान्डलाई अग्रता लिनबाट रोके । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई नोएरले आफ्नो बायाँतर्फ डाइभ दिँदै विफल पारेका थिए ।

ह्यारी मगाएरको २७ औं मिनेटमा गरेको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको ३२ औं मिनेटमा जर्मनीका काइ हाभर्ट्जको पासमा टिमो वेर्नरले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई इंग्ल्यान्डका किपर पिकफर्डले विफल पारे ।

पहिलो हापको इन्ज्युरी समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले अग्रता लिने अवसर सदुपयोग गर्न सकेनन् । स्टर्लिङले अघि बढाएको आक्रमणमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका केनले पहिलो टच नै खराब गरेपछि जर्मन डिफेन्सले बल क्लियर गरेर इंग्ल्यान्डलाई अग्रता लिन रोकेका थिए । इंग्ल्यान्ड ३–४–३ को सेट मैदानमा उतार्दै आक्रमक रणनीति बनाएको थियो भने जर्मनीले ३–४–२–१ सेट मैदानमा उतारेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *