मृतक डाँगीलाई शहिद घोषणा गर्न राप्रपा सहमहामन्त्री शाहको माग

भक्तपुर, बैशाख ४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको क्रममा मारिएका पार्टी कार्यकर्ता ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्न माग गरेको छ । रफत सञ्चार क्लव भक्तपुरले मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाहले गत चैत्र २७ गते काठमाण्डौंमा भएको प्रदर्शनमा घाईते भएर उपचारका क्रममा मृत्यु भएका आफ्ना कार्यकर्ता डाँगीलाई शहिद घोषणा गर्नुपर्ने माग गर्नुभएको हो ।
उहाँले सरकारले डाँगीलाई शहिद घोषणा नगरे राप्रपाले कडा सडक आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा घाईते भएका डाँगीलाई शहिद घोषणा गर्नुपर्ने राप्रपाको माग छ । सरकारले शहिद घोषणा नगरे कडा आन्दोलन गर्ने र सरकारले यसको मूल्य चुकाउनु पर्ने छ ।”
उहाँले सरकारका गृहमन्त्रीले शान्तीपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा जसरी दमन गरे त्यो नेपालकै इतिहासमा अक्षम्य रहेको बताउँदै अन्दोलनमा गरिएको दमनको निन्दा गर्नुभयो ।
उहाँले राप्रपाको बैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने स्पष्ट पार्नुभयो । गणतन्त्र असफल भईसकेको जीकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताउनुभयो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *