मानव अधिकार एलाइन्स भक्तपुरको अध्यक्षमा पुरुषोत्तम चयन

भक्तपुर, पुस २४
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) नेपाल भक्तपुर शाखाको अध्यक्षमा पुरुषोत्तम श्रेष्ठ चयन हुनुभएको छ । शाखाको मंगलवार थिमिमा सम्पन्न छैटौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । अधिवेशनले ९ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।
शाखाको अधिवेशनले नम्रता थापा उपाध्यक्ष, बिन्दु प्रजापती सचिव, शारदा पन्त कोषाध्यक्ष चयन गरेको छ । यस्तै सदस्यहरुमा रश्मी बराल, सागर गुरागाई, रिकेश पौडेल, अप्सरा घिमिरे र शर्मिला लबजु चयन भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनमा ३३ वटा सदस्य संस्थाहरुका प्रतिनिधिहरुले भाग लिएका थिए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै मानव अधिकार एलाइन्सका केन्द्रीय महासचिव विदुर सुवेदीले मानव अधिकारको वर्तमान अवस्था र यसको रक्षाको लागि समुदाय र घर घरमा सचेतना फैलाउनु पर्ने भएकोले समुदाय सँगसँगै भन्ने नाराको सार्थक रहेको बताउनुभयो । उहाँले मानव अधिकार र सामाजिक मुद्दाहरु समुदाय हुँदै पालिका, प्रदेश र संघीय तहमा उठान गर्न एलाइन्सको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य महेश बस्नेतले कमजोर वर्गको मानव अधिकारको रक्षाको लागि एलाइन्सले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले निकै ठूलो संघर्षबाट स्थापना भएको राष्ट्रिय मानव अधिकार आयोग, दलित आयोग, मुस्लिम आयोग, महिला आयोगहरुले समाजमा पछाडि पारिएका वर्ग क्षेत्र, लिङ्ग र समुदायको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, राजिव पहारी, एलाइन्सका केन्द्रीय उपमहासचिव तिलोत्तम पौडेल, कोषाध्यक्ष पिवन्त न्यौपाने, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज किरण थापा, मानव अधिकार एलाइन्स बागमती प्रदेशका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ र नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य तथा मानव अधिकार एलाइन्स इञ्चार्ज अनिता पाण्डे लगायतले भक्तपुरमा ईंटा भट्टामा बाल मजदुर प्रयोग भएको र विद्यालयहरुमा साना बालबालिकाहरुलाई विद्यार्थी हित समूहको नाममा राजनीतिक शिक्षा लिन बाध्य पार्ने जस्ता गम्भिर मानव अधिकार उलंघनको घटनालाई एलाइन्सले उजागर गर्दै उनीहरुको मानवअधिकार रक्षाका लागि आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *